अर्थ / बाणिज्य

२५०० अंक नजिक पुग्‍यो सेयर बजार

१७ कम्पनीको मुल्य आकासियो, पुनर्बीमा र ग्लोबल आइएमइको किनबेच उच्च

इकागज |
माघ २०, २०७७ मंगलबार १५:४७ बजे

काठमाडौं : मंगलबार सेयर बजार सुचक नेप्‍से परिसुचक २५०० अंक नजिक पुगेको छ । ६५ दशमलव ४९ अंकले बढेको नेप्से २४७३ दशमलव ७३ बिन्दु पुगेको हो । यो अहिलेसम्मकै उच्‍चतम् बिन्‍दू हो ।

२ दशमलव ७२ प्रतिशतले बढेको बजारमा होटल बाहेक सबै समूहको परिसुचक बढ्यो । होटल समूहमा तारागाउँ रिजेन्सी (हायात होटल), ओरियन्टल होटल (र्‍याडिसन होटल) र सोल्टी होटल मात्र सुचिकृत छन् । त्यसैले होटल समूहको परिसुचक घट्दा पनि समग्र नेप्से परिसूचकमा खासै प्रभाव देखिएन ।


१७ कम्‍पनीको सेयरमा भएको उच्‍च वृद्धिले नेप्‍सेलाई बढाउन टेवा पुग्यो । ती मध्ये युनाइटेड इन्‍स्योरेन्स कम्पनी र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मुल्‍यमा सकारात्मक सर्किट गएको छ । त्यसबाहेक १५ कम्पनीको सेयरमा ९ प्रतिशत भन्दा बढी मुल्‍यमा वृद्धि भएको छ ।

बीमा क्षेत्रमा उत्साह

बीमा क्षेत्रका कम्पनीहरूको सेयरमा उत्साहजनकरुपमा वृद्धि भएको छ । जीवन बीमा समूहको परिसुचक ३ दशमलव ३५ प्रतिशतले बढेको छ । त्यस्तै निर्जीवन समूहको परिसुचक ५ दशमलव ०३ प्रतिशतले बढ्यो । प्रभु लाइफ इन्स्योरेन्स र युनाइटेड इन्‍स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट नै लागेको थियो । प्रभु लाइफ इन्‍स्योरेन्सको सेयरमुल्य उछालपछि प्रति कित्ता ९ सय २४ रुपैयाँ पुगेको छ । त्यस्तै युनाइटेड इन्स्योरेन्सको सेयर मुल्य प्रति कित्ता ६ सय ९१ रुपैयाँ पुगेको छ ।

जनरल इन्‍स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, प्रडेन्सियल इन्योरेन्स, एभरेस्ट इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मुल्यमा अत्यधिक वृद्धि भएको छ ।

किनबेचमा पुनर्बीमा अघि

मंगलबारको कारोबारमा सबैभन्‍दा बढी पुनर्बीमा कम्‍पनीको सेयर किनबेच भएको छ । ८ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबारमा सबैभन्दा बढी पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको हो ।

करिब ५८ करोड २६ लाख रुपैयाँ बराबर कारोबार भएको पुनर्बीमा कम्पनीको सेयर मुल्य प्रति कित्ता एक हजार ६ सय ५३ रुपैयाँ पुगेको छ ।

त्यसबाहेक ग्लोबल आइएमइ बैंकको सेयर किनबेच ५३ करोड रुपैयाँ हाराहारी पुगेको छ । यसरी कारोबारमा आएको ग्लोबल आइएमइको सेयर मुल्‍य पनि उच्च वृद्धि भएको छ । यसको मुल्य प्रति कित्ता ३ सय ८१ रुपैयाँ छ ।

नेपाल टर्लिकम, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लगायतका कम्पनीको उच्च मात्रामा सेयर किनबेच भएको छ ।


Author

थप समाचार
x