अर्थ / बाणिज्य

कोभिडले थलिएको पोल्ट्री व्यवसायमा बर्डफ्लूको चिन्ता, पोल्ट्री व्यवसायी भन्छन् - 'सचेत छौं'

इकागज |
माघ २१, २०७७ बुधबार १४:२१ बजे

काठमाडौं : भारतका विभिन्‍न राज्यहरूमा घरपालुवा र जंगली चराचुरुंगीमा देखिएको हाइली प्‍याथोजेनिक एभियन इन्‍फ्‍लुएन्‍जा (बर्ड फ्‍लु) काठमाडौंको तारकेश्वर नगरपालिका पसेको छ । हाँस र टर्कीमा बर्डफ्‍लु पुष्टि भएपछि पोल्ट्री व्‍यवसाय धराशायी हुने चिन्ता बढेको छ ।

उसै कोरोना महामारीकै कारण पोल्ट्री व्‍यवसाय धराशायी बनेको छ । वर्षभरि कोभिड-१९ महामारीको आतंक सेलाउँदै गइरहेको बेला यो नयाँ आपत आइलागेको छ ।विगतमा बर्डफ्लूको हल्ला चलेसँगै कुखुराको माग र आपूर्तबीचको सन्तुलन खलबलिने गरेको भएपनि यसपाली त्यस्तो प्रभाव नपरेको पोल्ट्री व्यवसायी बताउछन् ।


कोभिड-१९ पछि पोल्ट्री उत्पादन नै २०-२५ प्रतिशतमा खुम्चिएकाले बर्डफ्लूको हल्लाले त्यति प्रभाव नपरेको पोल्ट्री व्यवसायी गुणचन्द्र विष्ट बताउछन् । उनले भने, 'कोरोनाले पोल्ट्री उद्योग यसै धराशायी छ । २०/२५ प्रतिशतमा खुम्चिएको उत्पादनमा बर्डफ्लूको हल्लाले त्यति प्रभाव पार्दैन ।' यद्यपि चलिरहेको पोल्ट्री व्यवसायलाई भने यसले अझ नकारात्मक असर पार्ने उनले बताए ।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको छ। यस क्रममा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरी सुरक्षित तवरले तह लगाइसकिएको पुश सेवा विभागले जानकारी छ। साथै रोग देखापरेको क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरी १७ माघसम्ममा रोग पूर्ण रुपमा नियन्त्रण गरिसकेको विभागको दाबी छ।

नेपालमा पहिलो पटक सन् २००९ मा घरेलु पन्छीमा बर्डफ्लु देखापरेको थियो । सन् २०१९ मा यस भाइरसको कारण पहिलो पटक २१ वर्षीय युवकको मृत्यु भएको थियो । मानव स्वास्थ्यको लागि समेत घातक यो रोग बेलैमा सावधानी नअपनाए पोल्ट्री व्‍यवसाय ध्वस्त पार्ने खतरा बढेको छ । हाँस र टर्कीमा मात्रै बर्डफ्लू देखिएकाले कुखुरा व्यवसायका सरोकारवाला आत्तिनुपर्ने अवस्‍था नरहेको पोल्ट्री सप्लायर्स जंगबहादुर बीसी बताउँछन् । उनले भने, 'हामी अहिले नै आत्तिनुपर्ने अवस्था छैन । तर सचेत हुनु पर्छ ।'

कुखुरामा संक्रमण पुष्टि नभएसम्‍म आत्तिनुपर्ने अवस्‍था नरहेको उनको धारणा छ । २०७६ बैशाख २७ मा बर्डफ्लु नेपाल प्रवेश गरेपछि काठमाडौं उपत्यका, मकवानपुर, कास्की, मोरङ, सुनसरी र नवलपरासीमा कुखुरा नष्ट गरिएको थियो । त्यतिबेला काठमाडौंमा मात्रै झन्डै ४० हजार कुखुरा मारिएका थिए ।

२०६४ सालमा सरकारले बर्ड फ्लु रोग नियन्त्रण आदेश जारी गरेको थियो । त्यहीँ आदेशलाई चारपटक संशोधन गर्दै कार्यान्वयनमा ल्याइएको छ । दैवी प्रकोप (उद्धार) ऐनलाई टेकेर यो आदेश जारी भएको थियो । आदेशअनुसार प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले बर्ड फ्लु नियन्त्रण तथा रोकथामको जिम्मेवारी लिने गरेको छ । मन्त्रालयअन्तर्गत देशभर १६ पशु क्‍वारेन्टिन कार्यालय छन् ।


Author

थप समाचार
x