अर्थ / बाणिज्य

कृषिमा विदेशी लगानी व्यक्ति विशेष चलखेल हो : डेरी व्यवसायी

इकागज |
माघ २१, २०७७ बुधबार १६:२६ बजे

काठमाडौं : नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले कृषिमा विदेशी ल्याउने व्यक्ति विशेष चलखेल भएको बताएका छन् । उनले यसबाट सीमीत व्यक्तिलाई मात्र लाभ हुने बताउँदै रोक्नुपर्ने बताए ।

पोखरा १७, डेमसाइडस्थित एल्लो प्यागोडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । केडियाले विदेशी लगानी ल्याउने सरकारको र केहि व्यक्ति विशेषको चलखेल हो, यसमा केहि सिमित मात्राका मान्छेलाई फाईदा हुने तर देश लगायत सम्पूर्ण कृषि उद्योग तथा अन्य सबै प्रकारले नोक्सान भई देशको अर्थतन्त्रमा असर पर्ने बताए । 

संस्थाका प्रदेश अध्यक्ष शिवहरि आचार्यको  अध्यक्षतामा आयोजना भएको पत्रकार सम्मेलनमा संस्थाका केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटा, निवर्तमान अध्यक्ष श्री सुमित केडिया, सल्लाहकार सुरेश बहादुर श्रेष्ठ, केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्र बजगाई ,केन्द्रिय सदस्य रामचन्द्र बराल सहित उद्योगी व्यवसायीका साथमा पत्रकार महानुभावहरुको सहभागीतामा सम्पन्‍न भएको थियो । 


कार्यक्रममा सल्लाहकार सुरेश बहादुर श्रेष्ठले भने, 'नेपालको कृषिमा विदेशी लगानी भित्राउनु भनेको आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु जस्तै हो, जुन कुरामा स्वयं आफैं आत्मनिर्भर हुन गईरहेको छ त्यसमा विदेशी लगानी ल्याउनु हुँदैन ।' 

प्रदेश अध्यक्ष अचार्यले विदेशी लगानी आउँन लाग्दा सबै कृषि क्षेत्र लगायत उद्योगी व्यवसायी सबैलाई चिन्ताले सताएको र के कसरी यसको जगेर्ना गर्ने भन्ने विषयले पिरोलेका कारण आज पत्रकार सम्मेलन यस गण्डकी प्रदेशमा पनि गरि सबैले एक्वेवद्धता जनाई त्यसको विरुद्धमा उत्रने बताए । 

सरकारले कृषिमा विदेशी लगानी गर्ने निति संशोधन गरि फिर्ता नगरेसम्म यसले सशक्त कार्यक्रमहरु अगाडि ल्याउने बताउनु भएको कुरा एसोसिएसनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए । 

नेपालको राष्ट्रिय जनगणना २०६८ को तत्थांकले नेपालको कुल जनसंख्याको ६५ प्रतिशतभन्दा बढि व्यक्ति कृषि तथा पशुपालनमा संलग्न रहेका छन् नविनतम् प्रविधि र कृषिमा आधुनिकता एवं व्यवसायिकताको अभावले गर्दा नेपालको कृषि क्षेत्र निर्वाहमूखी छ ।

उत्तर दक्षिण दुवै तिर ठूला उदायमान अर्थतन्त्रका विचमा रहेको हाम्रो जस्तो सानो मूलुक नेपालमा कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी आउने वातावरण सिर्जना भएमा यहाँको निर्वाहमुखी कृषि प्रणाली ध्वस्त हुने निश्चित प्राय रहेको संस्थाको दाबी छ ।

नेपालको ९०० किलोमिटर खुल्ला सिमानाको कारणले पनि ठूलो जनसंस्था भएको कारणले भारतसंगको अवैध आयात नियन्त्रण सम्भव छैन ।  वहुराष्ट्रिय कम्पनीले नेपालमा कृषिसंग सम्बन्धित क्षेत्रमा लगानी गर्दा ती उद्योग  संग प्रतिस्पर्धा गर्न नसकी भर्खर  वामे सर्न प्रयासरत कृषि क्षेत्र ध्वस्त भई ६५ प्रतिशत किसान वेरोजगार हुने कुरा नर्कान सकिन्न । 

नीतिगत रुपमा ७५ प्रतिशत निर्यातका लागि वैदेशिक लगानी खुल्ला गर्ने भनिए पनि दूध, फलफुल, मासुजन्य लगायतका कृषिजन्य उत्पादन लगभग २० देखि २५ प्रतिशत सम्म मात्र औपचारिक क्षेत्रको माध्यमबाट कारोवार भएको र लगभग ७५ देखि ८० अनौपचारिक तवरमा रहेको नेपाली कृषिजन्य उत्पादन  अन्तराष्ट्रिय लगानीमा उत्पादित वस्तुसंग प्रतिस्पर्धा गर्न नसकी ध्वस्त हुने  आधारहरु स्पष्ट छन् । एकातिर नवीनतम् प्रविधि र प्राविधिक जनशक्तिको  अभावले गर्दा नेपालमा कृषिजन्य वस्तुको उत्पादन लागत वढ्न गई उत्पादकले उचित मूल्य प्राप्त गर्न सकेका छैनन्  भने अर्कोतिर उद्योगहरुले बढि मुल्य तिर्नु परेको छ ।
 


Author

थप समाचार
x