अर्थ / बाणिज्य

कृषिमा बिदेशी लगानी भित्र्याउँदा साना उद्योगी र किसानलाई समस्या हुन्‍न : मन्त्रालय

इकागज |
माघ २६, २०७७ सोमबार १९:२१ बजे

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि क्षेत्रमा बिदेशी लगानी भित्र्याउँदा साना उद्योगी र किसानलाई समस्या नहुने बताएको छ । सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्‍वासन समितिको बैठकमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कृषि क्षेत्रमा भित्राउन लागिएको विदेशी लगानीले नेपालको उद्योगीहरूलाई विस्थापित नगर्ने बताए । 

उनले कृषिमा विदेशी लगानी साना तथा मझौला उद्योगमा नभइ ठुला उद्योगमा भित्रयाउन लागिएको जानकारी दिए । ५० करोड भन्दा बढी लगानी गर्ने गरि विदेशी लगानी भित्राउने उनको भनाइ छ । उनले आफैँले उत्पादन गरेर ७५ प्रतिशत बढी निकासी गर्ने र २५ प्रतिशत स्थानीय बजारमा नै खपत गराउनुपर्ने प्रावधान पनि रहेको बताए । सचिव अर्यालले कृषि क्षेत्रलाई अधिकतम सहुलियत दिन मन्त्रालयले हरसम्भव प्रयास गरिरहेको जानकारी दिए । 


त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. पेम नारायण कँडेलले कृषि र पशुपन्छीको क्षेत्रको बिकासका लागि आवश्यक नीति कानुन बनाएर किसानहरूको लगानी सुनिश्‍चित गर्ने प्रयास गरिएको जानकारी दिए । उनले कृषिलाई आधुनिकीरण गरेर कृषिजन्य वस्तुलाई निकासीका लागी प्रोत्साहन गरिने बताए । 

बैठकमा समिति सदस्यहरूले वैदेशिक लगानी भित्र्याउँदा नेपालको लगानीलाई पनि सुनिश्‍चित गर्नुपर्ने धारणा राखेका थिए  । उनीहरूले अहिलेको अवस्थामा देखिएको चूनौतीलाई मध्यनजर गर्दै कृषि क्षेत्रको बैदेशि लगानीका बारेमा निर्णय लिनुपर्ने बताएका थिए ।

कार्यक्रममा विभिन्‍न क्षेत्रका प्रतिनिधीहरूले कृषि क्षेत्रमा आवश्यक नीति नियम बनाउदा सम्बन्धीत निकायको राय लिनुपर्ने धारणा राखेका थिए । त्यस्तै उनीहरूले नेपाली किसान र उद्योगीहरूलाई असर नपर्ने गरि यस  क्षेत्रमा लगानी भित्राउनुपर्ने सुझाव दिए । 


Author

थप समाचार
x