अर्थ / बाणिज्य

अब निर्वाचनलाई बजेट दिनु परेन, प्रधानमन्त्रीको लहडले २८ करोड निकासा

इकागज |
फागुन १५, २०७७ शनिवार १६:१५ बजे

काठमाडौँः सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरिदिएपछि अर्थमन्त्रालयलाई निर्वाचनका लागि स्रोत जुटाउनुपर्ने तनावबाट ठूलो राहत भएको छ । मन्त्रालयले माघ २७ मा बजेटको मध्यावधि समीक्षाका क्रममा निर्वाचन र कोभिड–१९ विरुद्धको खोप चालु आर्थिक वर्षमा बजेट प्रस्तुत हुँदा आकलन नगरिएको आकस्मिक खर्च दायित्वका रूपमा आइपरेको उल्लेख गरेको थियो । 

बजेटको मध्यावधि समीक्षाले स्रोतको प्राथमिकीकरणका हिसाबले सबैभन्दा महत्वपूर्ण भनिएका निर्वाचन र खोपमध्ये निर्वाचनका लागि स्रोत जुटाउन नपरेपछि मन्त्रालयलाई ठूलो राहत भएको छ । अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानाका अनुसार, नियमित कार्यक्रममा राखिएका मध्ये ठूलो रकम खर्च नभएकाले निर्वाचन गराउन स्रोत जुटाउने तयारी स्वरुप मन्त्रालयले विभिन्न आयोजना र कार्यक्रमबाट खर्च नहुने रकम कटौती गर्न मन्त्रालयले कम प्राथमिकताका आयोजना र कार्यक्रमको खर्चको विवरण तयार गर्ने क्रम शुरु भएको थियो । 


उनले अब निर्वाचनका लागि स्रोत दिनु नपरेकाले बजेटका अन्य प्राथमिकता अनुसार नै बजेट खर्च हुने बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीको लहडमा प्रतिनिधि सभा विघटन भइ निर्वाचन घोषणा भएपछि सरकारले निर्वाचन आयोगलाई ८ अर्ब रुपैयाँको स्रोतको सुनिश्चितता दिइसकेको थियो । निर्वाचन पूर्व तयारीका कामका लागि आयोगले अर्थ मन्त्रालयबाट २८ करोड रुपैयाँको निकासा लिइसकेको थियो । 

निर्वाचन प्रयोजनका लागि अर्थबाट २८ करोड रुपैयाँ लगेको निर्वाचन आयोगले भने निर्वाचन तालिका पनि प्रकाशन गरेको थिएन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद कसरी सल्ट्याउने भन्नेमै आयोगको अधिकांश समय व्यतीत भएको थियो । 

आयोगले निर्वाचन प्रयोजनाका लागि थप कर्मचारी खटाउन आवश्यक फर्निचर, मसलन्द, सवारी साधन, निर्वाचन सचेतना तथा मतदाता शिक्षा लागि अर्थ मन्त्रालयसँग बजेट निकासा गर्न माग गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको १७ र २७ गते निर्वाचन घोषणा गरेकाले आयोगलाई निर्वाचनको तयारीमा तीव्रता दिन सरकारले पनि दबाब दिएको थियो । 

अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत् निर्वाचन र खोपलाई आकस्मिक दायित्वमा राखेकोमा निर्वाचन नहुने भएपनि खोपका लागि सुनिश्चितता दिएको स्रोत जुटाउनुपर्ने दबाब अर्थ मन्त्रालयलाई छ । 

अर्थ मन्त्रालयले खोपका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ४८ अर्ब रुपैयाँ स्रोत सुनिश्चितता दिएको छ । नेपालले पहिलो चरणमा भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको खोप १० लाख डोज खोप प्रति खोप ४ डलरमा खरिद गरेको हो । भारतसँग अर्को १० लाख डोज खोप किन्ने तयारी छ । 
 


Author

थप समाचार
x