अर्थ / बाणिज्य

४० अंकले बढ्यो नेप्से, निफ्राको मात्रै साढे ४४ करोडको सेयर कारोबार

इकागज |
फागुन १७, २०७७ सोमबार १५:२५ बजे

काठमाडौँः नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूको लाभांशको आशमा सेयर बजारमा पसेका लगानीकर्ता सेयर बेचेर बाहिरिने क्रम बढेपछि ओरालो लागेको सेयर बजारमा सोमबार पुनः सुधार देखिएको छ । 

सोमबार सेयर बजार परिसूचक, नेप्से ४०.६४ अंकले बढेर २,५१५.०३ बिन्दूमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन हुने ‘सेन्सेटीभ इण्डेक्स’ १.४५ प्रतिशत अर्थात् ६.४७ अंकले बढेको छ । आइतबार चार महिना यताकै भारी गिरावट आएको सेयर बजारमा आज सबै समूहका परिसूचक हरियाली भएको छ । ट्रेडिङ समूहको परिसूचक सबैभन्दा उच्च ३.३२ प्रतिशतले बढेको छ । त्यस्तै होटल र टुरिजम समूहको परिसूचक पनि २.७१ प्रतिशतले बढेको छ भने वित्त कम्पनी समूहको परिसूचक २.०४ प्रतिशतले बढेको छ । 


नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को समेत सेयर सूचीकृत रहेको अन्य समूहको परिसूचक १.३८ प्रतिशतले बढेको छ । 

आज सेयर बजारमा सबैभन्दा ठूलो सेयर कारोबार निफ्राकै भएको छ । कारोबार, कारोबार संख्या र कारोबारको आकार तीनै हिसाबले निफ्राको सेयर कारोबार सबैभन्दा धेरै छ । निफ्राको सेयरमा गत साता निकै ठूलो उतारचढाव देखिएको थियो । सोमबार निफ्राको सेयर मूल्य ४.१३ प्रतिशतले बढेर अन्तिम कारोबार मूल्य ५२९ रुपैयाँ कायम भएको छ । 

सोमबार निफ्राको मात्रै ४४ करोड ४८ लाख ५२ हजार ६ सय ४७ रुपैयाँको सेयर कारोबार भएको छ । निफ्रापछि ठूलो कारोबार भएका कम्पनीहरूमा शिखर इन्स्योरेन्स, ग्लोबल आइएमइ बैंक, नेपाल बैंक लिमिटेड तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । 

आज बढी कमाउनेमा चन्द्रागिरि हिल्स रहेको छ । चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.९० प्रतिशत बढेर अन्तिम कारोबार मूल्य ४५५ रुपैयाँ कायम भयो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक तथा बरुण हाइड्रोपावरको सेयर मूल्य क्रमशः ८.१२ र ६.७९ प्रतिशतले बढेको छ । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र आशा लघुवित्तको सेयर मूल्य पनि ६ प्रतिशतभन्दा माथि उकालो लागेको छ । 

सेयर बजारमा अत्याधिक खरिद वा बिक्रीको चाप हुँदा दैनिक कारोबार १० अर्ब रुपैयाँको कारोबार नाघेकोमा सोमबारको कारोबार औसत देखिएको छ । सोमबार नेप्सेमा २०९ कम्पनीको ५ अर्ब ६९ करोड २३ लाख १६ हजार आठ सय ३१ रुपैयाँ मूल्यका १ करोड १८ लाख ३८ हजार चार सय ८८ कित्ता सेयर ७० हजार तीन सय ३९ कारोबारमार्फत् खरिद–बिक्री भएको छ । 
 


Author

थप समाचार
x