झण्डै चार दशकपछि आर्थिक वृद्धिदर ऋणात्मक
काठमाडौँः गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक रहेको संशोधित अनुमान केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ । कोभिड–१९ महामारीका बाबजुद पनि आर्थिक वृद्धिदर ऋणात्मक नभएको भन्ने यसअघिको दाबीलाई खारेज गर्दै विभागले झण्डै दुई प्रतिशतको ऋणात्मक आर्थिक वृद्धिदर कायम हुने अनुमान आज सार्वजनिक गरेको हो ।
पञ्चायतकाल पछि आर्थिक उदारीकरणले निजी लगानी वृद्धि, उद्योग, व्यवसाय र सेवा क्षेत्रको वृद्धिसँगै अर्थतन्त्रको संरचनामा परिवर्तन भइ क्रमशः सेवा क्षेत्रले नेतृत्व गरेको आर्थिक विस्तारतर्फ मुलुक अघि बढ्यो । यद्यपि २०५८ र २०७३ मा मुलुकको आर्थिक वृद्धिदर निकै कमजोर देखिएको थियो । तर ऋणात्मक भने भएन ।
२०४० सालपछि पहिलोपटक आर्थिक वर्ष २०७७–७८ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको हो । कोभिड–१९ महामारीले पर्यटन क्षेत्र तथा औद्योगिक उत्पादन र उपभोग कमजोर बनाउँदा आर्थिक वृद्धिदर ऋणात्मक भएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक वृद्धिदर पनि ४.६ प्रतिशतले ऋणात्मक रहेको केन्द्रीय तथ्यांक विभागले उल्लेख गरेको छ । यद्यपि दोस्रो त्रैमासबाट भने नेपाली अर्थतन्त्रको पुनरुत्थान ‘भी’ सेपमा (अंग्रेजी वर्णमालाको भी आकारमा) हुन सक्ने बताइएको छ ।
नेपालले सन् १९६४–६५ (२०२१–२२) बाट कुल गार्हस्थ उत्पादनको तथ्यांक निकाल्न शुरु गरेको हो । ‘पञ्चायतकालमा हाम्रो अर्थतन्त्रमा कृषिको प्रभुत्व थियो । कृषि उत्पादन तलमाथि हुने बित्तिकै आर्थिक वृद्धिदरमा प्रभाव परिहाल्थ्यो,’ अर्थशास्त्री डा. विश्व पौडेलले भने, ‘बहुदलपछि अर्थतन्त्रमा भएको सुधारले सशस्त्र द्वन्द्व र कठिन परिस्थितिमा पनि आर्थिक वृद्धिदर ऋणात्मक भएन ।’
२०७२–७३ मा भने भूकम्पपछि नेपालको व्यापारमा भारतबाट अवरोध हुँदा आर्थिक वृद्धिदर ०.२ प्रतिशत रहेको थियो ।
यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषका १९० सदस्यमध्ये नेपाल सहित २३ देश ले महामारीका बाबजुद पनि धनात्मक आर्थिक वृद्धिदर कायम गर्ने अनुमान थियो । केन्द्रीय तथ्यांक विभागको संशोधित अनुमानले नेपाली अर्थतन्त्र पनि महामारीका कारण ऋणात्मक आर्थिक वृद्धिदर हुने मुलुकहरूको सूचीमा परेको छ ।
कोभिड–१९ महामारीकै कारण छिमेकी राष्ट्र भारतको आर्थिक वृद्धिदर सन् २०२०–२१ मा ७.७ प्रतिशतले ऋणात्मक भएको थियो ।
यद्यपि केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय लेखाको आधार वर्ष सन् २०००–०१ बाट सन् २०१०–११ लाई आधार मानेकाले आर्थिक वर्ष २०७६–७७ मा अर्थतन्त्रको आकार भने ३९ खर्ब ४३ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यसअघि आर्थिक वृद्धिदर २.२७ प्रतिशत कायम हुँदा पनि ३७ खर्ब ६७ अर्ब हुने केन्द्रीय तथ्यांक विभागको अनुमान रहेको थियो ।
केन्द्रीय तथ्यांक विभागले गत वर्ष आर्थिक वृद्धिदर अनुमान २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गर्दा जेठदेखि आर्थिक क्रियाकलाप सामान्य हुने अनुमान गरेको थियो । तर बन्दाबन्दी नै असारसम्म लम्बियो भने आर्थिक गतिविधि सबै ठप्प भए । सरकारी खर्चमा हुने वृद्धिका कारण र निजी क्षेत्रले आयात बढाउने कारण पनि सामान्यतः आर्थिक वर्षको अन्तिम त्रैमास महत्वपूर्ण हुन्छ । तर बन्दाबन्दीका कारण गत आर्थिक वर्षको अन्तिम त्रैमास वैशाख–असार २०७७ मा भने आर्थिक वृद्धिदर १५.४ प्रतिशतले ऋणात्मक (–१५.४ %) भयो । यस आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) मा भने आर्थिक वृद्धिदर ४.६ प्रतिशत ऋणात्मक छ । दोस्रो त्रैमासपछि आर्थिक क्रियाकलापमा सुधार भएकाले संकुचनको अवस्था नरहने जानकारहरूले बताएका छन् ।
अहिलेसम्म राष्ट्रिय लेखा तथ्यांकको गणना गर्दा लिइएको आधार वर्ष सन् २०००–०१ लाई सन् २०१०–११ ले प्रतिस्थापन गरी नयाँ आधार वर्ष तय गरेको छ । यसरी आधार वर्ष हरेक १० वर्षमा परिवर्तन गर्ने चलन छ । तर नेपालले लामो समयदेखि आधार वर्ष परिवर्तन गरेको थिएन । आधार वर्ष परिवर्तनपछि सन् २०१०–११ को आधार मूल्यमा राष्ट्रिय लेखा तथ्यांक मापन गरिएको हो । सन् २०००–०१ को तुलनामा सन् २०१०–११ को स्थिर मूल्यमा त्यसयताको कुल गार्हस्थ उत्पादन मापन गर्दा कुल गार्हस्थ उत्पादन (अर्थतन्त्रको आकार) बढेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया