अर्थ / बाणिज्य

७० वर्षमा दौडियो चेम्बर

इकागज |
फागुन २२, २०७७ शनिबार १७:३ बजे

काठमाडौँः व्यावसायीहरूको पुरानो संस्था नेपाल चेम्बर अफ कमर्सले ७० औं वार्षिकोत्सवको अवसरमा दौड प्रतियोगिता आयोजना गरेको छ । शनिबार बिहान भएको दौड प्रतियोगिताका विजयीहरूलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका थिए । 

पुरस्कार वितरण समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे । कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले नेपाली सेनाद्वारा निर्माणाधीन पूर्वाधार विकास तथा निर्माणका कामले पनि सेनासँग नेपालको निजी क्षेत्रको सामिप्यता बढाएको बताए । 


‘सेना हाम्रो धरोहर हो । राष्ट्रिय विपतका बेला सेनाको अनुपम योगदान रहेको सबैलाई विदीतै छ,’ श्रेष्ठले अगाडि भने, ‘नेपाली सेनाको ख्याती मुलुकमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत बलियो रहेको छ । नेपाली सेनाको जस्तो अनुशासन हामी सबैले अनुसरण गर्नुपर्दछ ।’

२००७ सालमा प्रजातन्त्रको स्थापनासँगै चेम्बरले समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । ७० औँ वार्षिकोत्सवको अवसरमा चेम्बरले चित्रकला प्रतियोगिता, रक्तदान कार्यक्रम, दौड प्रतियोगिता लगायतका कार्यक्रम गरेको छ । यसै अवसरमा नेपाल महिला चेम्बरले व्यापारिक प्रर्दशनी तथा मेला आयोजना गर्दै छ । चेम्बर अफ कमर्सको गल्फ प्रतियोगिता पनि आयोजना हुँदैछ । 

दौड प्रतियोगिताका विजयीहरू पुरस्कृत

चेम्बर स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चेम्बरको शिक्षा तथा खेलकुद समितिले आयोजना गरेको दौड प्रतियोगितामा ३१५ जना खेलाडी सहभागी भएका थिए । विद्यार्थी, सञ्चारकर्मी र व्यवसायीका अलगअलग दौड प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा छात्रतर्फ आदर्श सौला युवक माविका उदय लिम्बु प्रथम, नेपालय एजुकेसन फाउन्डेसनका युनिस आले मगर द्वितीय, आदर्श सौला युवक माविका प्रवीण तामाङ तृतीय भएका छन् । यसैगरी भिमोदय मोडेल स्कुलका अमृत बोट, पिस प्वाइन्ट स्कुलका ओमप्रकाश थाकर र एम्स स्कुलका अविनाश कार्कीले सान्त्वना स्थान प्राप्त गरेका थिए । 

छात्रातर्फ पञ्चकन्या माविकी सरिता रम्तेल प्रथम, पञ्चकन्या माविकै सोनु घताने द्वितीय, र गान्धी आदर्श स्कुलकी अन्जु खड्का तृतीय भएका छन् । यस्तै सीसीआरसीकी निशा थापा, पञ्चकन्या माविकी कविता चौलागाईँ र नेपाल आदर्श माविकी बसन्ती कु्ँवरले सान्त्वना स्थान प्राप्त गरेका छन् । 

पत्रकारहरूतर्फ महानगरखबर डट कमका रमेश शाक्यले प्रथम, अप्सरा साप्ताहिकका बालकृष्ण डंगोल, देखापढी डट कमका निकेश खत्री तृतीय भएका थिए । यस्तै व्यावसायीतर्फ सचिन्द्र प्रधानांग प्रथम, नवराज ढकाल द्वितीय र मणिकरत्न शाक्य तृतीय भएका थिए ।  कार्यक्रममा वरिष्ठ म्याराथन धावकहरू वैकुण्ठ मानन्धर र रामकृष्ण महर्जनलाई सम्मान गरिएको थियो ।
 


Author

थप समाचार
x