अर्थ / बाणिज्य

हुलाकी राजमार्गमा ठेकेदारको लापरबाही, क्रोनिक ठेक्का तोड्ने तयारी

इकागज |
फागुन २६, २०७७ बुधबार १८:१४ बजे

काठमाडौं : हुलाकी राजमार्गअन्तर्गत लामो समयदेखि निर्माण अवरुद्ध भएका पुलको ठेक्का तोड्न थालिएको छ । निर्माण सुरु भएको १० वर्षसम्म सम्पन्‍न नभएका पाँच पुलमध्ये तीनको ठेक्का तोडिसकिएको छ भने दुई पुलको ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ ।

आयोजनाको सबैभन्दा ठूलो चुनौतीका रुपमा पुलको क्रोनिक ठेक्का रहेको थियो । एक दशक पहिले निर्माण सुरु भए पनि अघि नबढेका पुलको ठेक्का तोडेर नयाँ प्रक्रियामा जान लागिएको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।


गत वर्षसम्म यस्ता क्रोनिक ठेक्का १० वटा रहेको निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताए ।  उनका अनुसार निर्देशनालयले दुईको ठेक्का तोड्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध निर्माण व्यवसायीले अदालतमा गएकाले मुद्दा विचाराधीन भएको उनले बताए । उनले भने, 'अदालतबाट निर्णय आएपछि मात्रै नयाँ ठेक्कामा जान सकिन्छ ।'

आयोजनाअन्तर्गतका पाँच पुलमा भने निर्माणको काम भइरहेको छ । १०/११ वर्ष पुरानो पुलमा अहिले निर्माण भइरहेकाले अवधि थप भएको छ । कमला र दलान नदीमा पुल सम्पन्‍न क्रममा रहेको छ । यी दुवै पुलको लम्बाइ ५०० मिटर छ । उनले भने, 'यही वर्ष नै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।'

आयोजनाअन्तर्गत अहिलेसम्म २४५ पुल रहेका छन् । अहिलेसम्म ७५ पुल सम्पन्‍न भएर प्रयोगमा आइसकेका छन् । ७५ पुल डिजाइनका क्रममा र ९५ पुल निर्माणाधीन छन् । सडक बने पनि कतिपय स्थानमा पुल नबनेकाले सो सडकको प्रयोगकर्तालाई आवतजावत सजिलो भएको छैन ।

कतिपय स्थानमा पहिले भएका साँघुरा पुलमा पनि सवारीसधन र पैदलयात्रु आवतजावत गरिरहेका छन् । ती स्थानमा पुल निर्माणपछि आवतजावत सहज हुने अपेक्षा गरिएको छ । आयोजना आर्थिक वर्ष २०७९/८० सम्म सम्पन्‍न गर्ने लक्ष्य लिइएको छ । सोही अवधिसम्ममा नै निर्माणाधीन र निर्माण शुरु नभएका पुलसमेत सम्पन्न गर्नुपर्ने चुनौती छ । रासस


Author

थप समाचार
x