अर्थ / बाणिज्य

पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न श्रीलङकालाई चेम्बरको प्रस्ताव

इकागज |
फागुन २७, २०७८ शुक्रवार १८:३३ बजे

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले सार्क सदस्य राष्ट्र श्रीलङकासँग पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न प्रस्ताव गरेको छ ।

शुक्रबार जमलस्थित चेम्बर भवनमा भएको शिष्‍टाचार भेटवार्तामा अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि श्रीलङकन राजदूत हिमाली शुभासिनी अरुनातिलकासँग पर्यटन सेवामा सहकार्यमार्फत दुवै मुलुकले आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए ।


आगामी बुद्ध जयन्तीको अवसरमा नेपालले दोस्रो  गौतम बुद्ध अन्तर्राराष्ट्रिय विमानस्थलबाट औपचारिक उडान मल्लले सुरु गर्न लागेकाले सीधा हवाई सम्पर्क बढाउन आग्रह गरे । उनले भने, ‘नेपाल श्रीलङकाका दुबै सार्क राष्ट्रका सदस्य हुन् । आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले पनि समान छन् । श्रीलङकाका पर्यटक सिधै भैरहवा विमानस्थलमा आएर नेपालको महत्वपुर्ण धार्मिक स्थल लुम्बिनीमा भ्रमण गर्न सक्छन् ।’

काठमाडौँ-कोलम्बोको हवाई क्षमता बिस्तार गरेर दुवै मुलुकले अन्य व्यापारिक लाभ लिन सक्ने पनि अध्यक्ष मल्लको भनाइ थियो । पछिल्लो समय नेपालीहरू पनि घुम्नका लागि विदेश जाने क्रम बढेको भन्दै उनले त्यसको लाभ श्रीलङकाले लिन सक्ने बताए । उनले नेपाल र श्रीलङकाबीचको ६५ वर्ष लामो सम्वन्धलाई आर्थिक दृष्टिकोणले पनि परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।

राजदूत हिमालीले नेपाल र श्रीलङकाबीचको व्यापार सहजीकरण मार्फत आर्थिक समृद्धिका लागि आफुले पहल गर्नुपर्ने बताइन् । पर्यटन सेवा विस्तार गरेर दुवै मुलुकले आर्थिक लाभ लिन सक्ने उनको भनाइ छ ।

उनले नेपाल र श्रीलङकाबीच हवाई सेवा विस्तार गर्न पहल गर्ने प्रतिवद्धता जनाएकी छन् । नेपालमा श्रीलङकाले हाल पूर्वाधार, जलविद्युत, सेवा क्षेत्रमा लगानी गरिरहेको र थप लगानीका लागि उपयुक्त वातावरण खोजिरहेको हिमालीको भनाई छ ।

 

 

 

 


Author

थप समाचार
x