अर्थ / बाणिज्य

'पोखराको शारा होटलले जापानी हस्पिटालिटीको झल्को दिन्छ'

इकागज |
फागुन २८, २०७८ शनिबार १८:२८ बजे

काठमाडौँ- कोभिड-१९ महामारीले पर्यटन क्षेत्र र होटल व्यवसायी सबैभन्दा बढी प्रभावित  बने । कोभिड मत्थर हुँदै गएपछि बिस्तारै पुनः पर्यटन क्षेत्र चलायमान हुन थालेका छन् । महामारीको समयमा सञ्चालन हुने तयारीमा रहेका होटलहरूले सबैभन्दा बढी सास्ती भोगे । तर, केही व्यवसायीहरू भने 'पर्ख र हेर' को सिद्धान्त अपनाए ।

पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी धेरै होटल सञ्चालनको तयारीमा थिए । व्यवसायीहरूले करोडौँको लगानीमा खोलेका होटल तथा ट्राभल एजेन्सी स्वदेशी तथा विदेशी पर्यटकलाई भित्र्याउने लक्ष्य राखेका थिए ।


पछिल्लो समय 'हस्पिटालिटी' क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । मुलुकभर होटलहरू स्थापना गर्ने क्रम बढ्दो छ । केही समयअघि उपत्यका मात्र सुविधासम्पन्न होटल खोल्ने चलन थियो । तर, अहिले भने उपत्यका बाहिरका पर्यटकीय क्षेत्रमा सुविधा सम्पन्‍न होटल स्थापना हुन थालेका छन ।

पोखरामा महामारी सुरु भएपछि जापानीज होटलको सेवा-सुविधाको झल्को दिने गरी १ अर्ब रुपैयाँ बढीको लगानीमा 'शारा' होटल सञ्‍चालनमा आइसकेको छ । पर्यटकीय क्षेत्रमा सुविधा सम्पन्‍न होटल स्थापना हुनुले हस्पिटालिटी क्षेत्रमा अर्को आयाम थपिएको छ । 

मुलुकभरको समग्र पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउने उद्देश्यले हस्पिटालिटी क्षेत्रमा लगानी गरेर शारा होटल स्थापन गरिएको सञ्चालक सिपी चक्र सुवेदी बताउँछन् । गण्डकी प्रदेशलाई मात्र लक्षित नगरी सातै प्रदेशमा सुन्दर सहर पोखरा पर्यटकीय केन्द्रको पहिचान गराउन सक्ने उनले बताए ।

डेढ रोपनी जग्गामा फैलिएको होटलमा सुविधासम्पन्‍न पार्किङसहितको व्यवस्था रहेको सुवेदीले जानकारी दिए । साना-ठूला गरी दुई सय सवारीसाधनको पार्किङ क्षमतासमेत छ ।  पोखराको आकर्षक मानिने लेक साइडमा सबैभन्दा अग्लो भवनको होटलमा ६२ वटा कोठा छन् । होटलका कोठा-कोठामा पुग्‍न दुई अत्याधुनिक पारदर्शी लिफ्टको व्यवस्था गरिएको छ । प्रत्येक कोठाको बाथरुममा जापानीज प्रविधिको वासलेटसहितको सिस्टम छन् । 

प्रकृतिले सुन्दर उपहार दिएको गृहजिल्ला कास्कीमा उनले व्यवसाय गर्ने सोच बनाए । कास्कीलाई हिमालले घेरेको र तालै तालको सहरको रुपमा चिनिन्छ । लेकसाइडकै अग्लो होटलबाट फेवाताल, हिमाल र आसपासको आकर्षक तथा मनमोहक प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ ।

५५ सय रुपैयाँदेखि ८१ हजारसम्मको सुविधा-सम्पन्‍न कोठा उपलब्ध

स्पा, व्युटिकियर, ड्राइ र स्टिम साउना, अर्थोपेडिक ट्रिटमेन्ट (हाड जोर्नी, रक्त सञ्चालन तथा नशा को प्राकृतिक उपचार) को व्यवस्था छ । होटलको आठौँ तल्लामा उपयुक्त विधिका जापानिज ओन्सेन् (हट- टब/ज्यागुजी) को पनि व्यवस्था छ । नवौँ फ्लोरमा स्वीमिङ पुलसमेतको सुविधा छ ।

होटेलमा स्काइ बार र फ्री योगा हबको पनि सुविधा  छ। ​३६० डिग्रीको भ्युटावर समेत रहेको छ । जसबाट पोखरा उपत्यका, रानी वन, विश्‍व शान्ति स्तुपा, शिव महामूर्ति, फेवाताल, वरिपरिका हिमालको र रात्रिकालीन दृश्‍य अवलोकन गर्न सकिन्छ ।

'शाराले पोखरा घुम्‍न आउने विदेशी पर्यटकले होटलमा आफूले चाहे जस्तो कोठामा बस्‍न सक्छन् । ५५ सय रुपैयाँदेखि ८१ हजारसम्मको सुविधा-सम्पन्‍न कोठा पाइन्छ,' ५० वर्षीय सुवेदी भन्छन्। होटलमा आएका पाहुनालाई सेवा प्रवाह गर्न कुनै पनि कन्जुस्याइ बाँकी नराख्‍ने उनको भनाइ छ । ग्राहकलाई सक्दो सेवा दिएर सन्तुष्ट प्रदान गर्ने उनले प्रतिबद्धता जनाए । होटलमा वरिष्ठ सेफसहित ५० जना भन्दा बढी दक्ष जनशक्ति राखी सेवा प्रदान गरिरहेको सुवेदीले जानकारी दिए ।

'पोखरा जस्तो पर्यटकीय नगरमा कुनै पनि समयमा मित्र राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा मन्त्रीहरू आउँदा अन्तरराष्ट्रिय स्तरको सुविधासहितको बसोबास व्यवस्था छ,' उनी भन्छन,' होटेल शारामा अत्याधुनिक सेवा सुविधा सहितको प्रेसिडेन्सियल स्वीट, पियम स्वीट र मिनिस्टेरियल स्वीटको समेत व्यवस्था गरिएको छ ।'

महामारीले थलिएको हस्पिटालिटी क्षेत्रलाई उजागर गर्छ

पाँच वर्ष अघि पोखरा महानगरपालिका ६ को लेकसाइडमा होटल निर्माणका लागि पोखरा सुरुवात भएको थियो । चीनमा महामारी सुरु हुँदा निर्माण सम्पन्‍न भएर सञ्चालनमा आइसकेको थियो । महामारीले थलिएको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन शारा हस्पिटालिटीले सहयोग गर्ने उनले विश्‍वास व्यक्त गरे ।

होटलमा कोभिडको दोस्रो लहरको समाप्तिसँगै पाहुनाहरूको आगमन बढेको थियो । तेस्रो लहर लागेपछि भने ग्राहकको संख्या घटेको सञ्‍चालक सुवेदीले जानकारी दिए । विश्वभरबाट संक्रमण घट्दै गएकाले र खोपले सुरक्षा बढाएकाले बिस्तारै पर्यटकको संख्या बढेर हस्पिटालिटी क्षेत्रमा टेवा पुग्‍ने उनको विश्‍वास छ । 

सञ्‍चालक सुवेदीले आफ्नो क्षेत्रलाई निरन्तरता दिदैँ जापानमा बसेको करिब तीन दशक भइसकेको छ । विदेशमा रहँदा हस्पिटालिटी क्षेत्रमा उनले देखेका अधिकांश सामग्रीहरू जापानबाट ल्याइएका छन् । उनले भने,' होटलमा आउने पाहुँनाहरू जापानकै कुनै होटलमा आभास गर्न पाउने छन् ।'

सुवेदीसँग नेपालमा रहँदा होटल र ट्राभल एजेन्सीमा काम गरेको अनुभव छ । सुरुवातदेखि पर्यटन क्षेत्रमा सक्रिय रहेकाले जापानमा पनि उनले हस्पिटालिटी क्षेत्रलाई निरन्तरता दिए । तालै तालको सहरमा होटलको नाम शारा कसरी राख्‍नु भयो भन्नेमा प्रश्‍नमा उनी रोचक प्रसंग सुनाउँछन्,' जीवन संगीको नामलाई जोडेर 'शारा' राखिएको हो । शारामा भनेको यो ब्रम्हाण हो, यसमा सबैलाई अटाउनुपर्छ । यो संसार सबैको लागि हो ।'

होटलले गुणस्तरीय सेवा प्रदान गर्न' आफ्नो मेहनत गरौ, अगाडि बढौ र लक्जरियस हस्पिटालिटीसहित सेवा प्रदान गरौ,' भन्‍ने अभियानसहित आफ्नो कामलाई अगाडि बढाएको छ । उनले हस्पिटालिटी क्षेत्रमा नयाँ योजना पनि पस्किए, 'नेपालको अस्पताल र हस्पिटालिटीको सिधा सम्पर्क बढाउने गरी काम अगाडि बढाएको छु । अस्पतालको चिकित्सक तथा नर्सहरूलाई फ्रेस हुन मन लाग्दा होटलले सुविधासम्पन्‍न गन्तव्यमा लाने व्यवस्था गर्छ ।' 

पर्यटकीय क्षेत्रलाई उत्थान गर्न नीति परिवर्तन 

सरकारले पर्यटकीय क्षेत्रलाई उत्थान गर्न नीतिमा परिवर्तन गरेर व्यवसायीलाई प्रोत्साहन गर्नलाई उनले जोड गरे । तीनै तहका सरकारले पर्यटकीय क्षेत्रलाई उकास्‍न एकसाथ सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

हस्पिटालिटी क्षेत्रलाई उनले लगानी गर्न साथ तत्कालै नाफा खोज्न नहुने गरी बुझेका छन् । दीर्घकालीन रुपमा गरिएको लगानीले यो क्षेत्रमा परिणाम दिन सक्ने उनको विश्‍वास छ । पर्यटकीय गतिविधि बढाउन सरकारले प्रस्ट नीति ल्याएर कार्यान्वय गर्नुपर्नेमा उनले जोड गरे ।

राज्यले बोलीमा मात्र पर्यटन क्षेत्रलाई उकास्ने गरेको तर, व्यवहारमा लागू नगरेको उनको बुझाइ छ । पर्यटकलाई नेपाल आउँदा  सुरक्षित भइने भरपूर मात्रामा मनोरञ्‍जन प्राप्त गर्न सक्‍ने विश्‍वास दिलाउनुपर्छ । विदेशमा नेपाल हिमाल आरोहणको लागि उपयुक्त राष्ट्र मानिन्छ ।

आरोहीलाई अनुमतिमा झन्झट दिन नहुने उनको भनाइ छ । नयाँ-नयाँ ट्रेकिङ रुटको खोजी गरी प्रचारप्रसार गरेर विदेशीलाई आकर्षण गर्न सक्‍ने उनले धारणा राखे ।

'महामारी पश्चात दक्ष कामदार पलायन हुँदै गएका छन्,' सुवेदीले भने,' बैंकले ठूला-ठूला व्यवसायीलाई लगानी गर्न सहजै मानिरहेको अवस्था छैन । राज्यले स्पष्ट नीति बनाएर काम गर्नेलाई हौसला प्रदान गर्नुपर्छ । वैदेशिक लगानी कर्तालाई मुलुकमा भित्र्याउन सहज वातावरण बनाउनुपर्छ । '

 


Author

थप समाचार
x