अर्थ / बाणिज्य

आगामी बुधबारदेखि २३ औं फ्लोरा एक्स्पो हुँदै

इकागज |
चैत ७, २०७८ सोमबार १७:४९ बजे

काठमाडौं – आगामी बुधबारदेखि ललितपुरको जावलाखेल मैदानमा २३ औं फ्लोरा एक्स्पो हुने भएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा उक्त एक्स्पो सुरू हुन लागेको हो। 

एक्स्पोमा पुष्प बिकास केन्द्र, बागमती प्रदेश सरकार, कृषि तथा पशुपंछी विकास मन्त्रालय र कृषि विभागको आर्थिक सहयोग रहेको छ। मेलाको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने रहेको छ।


मेला चार दिनसम्म चल्ने एसोसिएसनका बरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक शिवबहादुर खड्काले जानकारी दिए। मेला प्रदर्शनीले पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबर्द्धनमा  सघाउ पुर्या‍उने एसोसिएसनले विश्वास लिएको छ।

एक्स्पोमा अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ वटा र व्यवसायिक स्टलका लागि ५६ वटासहित जम्मा ६२ वटा स्टल रहने छन्। 

एक्स्पोमा मौसमी फूल, आलकारिक बोट बिरुवा, कट फ्लावर,ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, ग्रीन हाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिँचाई प्रविधि आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन्।  

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ। 

मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरू बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरुमा प्रथम हुने पुष व्यवसायीलाई नगद, शील्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने एसोसिएसनले बताएको छ। 

एसोसिएसनका अनुसार १० उत्कृष्ट मौसमी फूल, २० उत्कृष्ट आलंकारिक बिरुवा, ३० उत्कृष्ट फूल्ने बिरुवा, ४० उत्कृष्ट पुष्प सजावट, ५० उत्कृष्ट स्टल, ६० उत्कृष्ट कट फ्लावर (गुलाब), ७० उत्कृष्ट कट फ्लावर (कार्नेशन), ८० उत्कृष्ट कट फ्लावर (जरबेरा) गरी आठ विधामा प्रतिष्पर्धा हुनेछ। 

साथै यस वर्ष लामो समय देखि निरन्तर रुपमा पुष्प व्यवसायको क्षेत्रमा योगदान पुर्‍याएको पुष्प नर्सरीको छनौट गरि उक्त नर्सरी लाई कदर पत्रद्वारा सम्मान गरिने भएको छ।

प्रदर्शनी पुष्प उद्यमी/व्यवसायी तथा कम्पनीहरुको लागि पुष्प तथा पुष्प जन्यवस्तुको आफ्नो बजार बिस्तार गर्न, सूचना तथा नयाँ प्रविधिको क्षेत्रमा भएको प्रगतिको बारे ग्राहकलाई जानकारी गराउन, ग्राहकका आवश्यकता थाहा पाउन, बजार सर्वेक्षण गर्न, पुष्प सम्बन्धी नयाँ नयाँ निकास भएका उत्पादनहरुलाई सार्वजनिक गर्ने र ग्राहक उपभोक्ताहरुसँग आपसी सम्बन्ध स्थापना गर्न अवसर हुनेछ।

पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आँगन तथा बगैंचा सजाउन चाहने, फूल बिरुवा प्रति अभिरुचि राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहनेहरु सबैको निम्ति २३ औ फ्लोरा एक्स्पो उपयोगी हुने विश्वास एसोसिएसनको विश्वास छ। 

पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धी सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने छ। अन्तराष्ट्रिय स्तरमा प्रयोग भईरहेको प्रविधिको विषयमा समेत मेला स्थलमा जानकारी प्राप्त हुनेछ।

यी प्रबिधिहरु पुष्प क्षेत्रलाई मात्र नभएर सम्पूर्ण व्यवसायीक कृषिका लागि समेत अति नै उपयोगी हुने भएकोले कृषिसँग सम्बन्धित व्यवसायी, अध्ययन अध्यापन गर्ने गराउने तथा अनुसन्धानमा संलग्न संघ संस्था एवं व्यक्तिहरुलाई समेत मेला र प्रदर्शनी अत्यन्त उपयोगी हुनेछ। 

गत वर्षमा भएको फ्लोरा एक्स्पोहरुको आधारमा तथा कोभिड महामारीका कारण पुष्पको बजार खस्केको अवस्थालाई मध्यनजर गर्दा यस वर्ष एक्स्पोको अवधि भित्र ४५ हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा करिब ७५ लाख सम्मको व्यवसायीक कारोबार हुने अपेक्षा गरिएको छ।

कोरोना कहर हुनु भन्दाअघिको सामान्य अवस्थामा आब ०७५/७६ मा २ अर्व ४२ करोड भन्दा बढीको वार्षिक कारोबार रहेको थियो।   आव २०७६–०७७ मा करिब ३ अर्व भन्दा बढिको कारोबार हुने प्रक्षेपण रहेकोमा कोभिड–१९ को महामारीका कारण अन्तिम चार महिना पूर्णरुपले बजार बन्द हुँदा व्यवसायिक गतिविधिमा कमी आई २ अर्ब १५ करोडमा कारोबार सिमित भएको थियो। 

यस आब ०७७–७८ मा वर्षे भरी कोभिड–१९ को कहर रहेका कारण भएको निषेधाज्ञाले गर्दा व्यवसायिक कारोबारमा भने कमी आई १ अर्व ६३ करोडको मात्र कारोबार भएको व्यहोरा एसोसिएसनले बताएको छ। 

फ्लोरिकल्चर एशोसिएसनले विसं २०५१ सालबाट पुष्प प्रदर्शनी तथा व्यापार मेला संचालन गर्दै आईरहेको छ। दुई वर्ष कोभिड महामारीका कारण मेला प्रदर्शनीको आयोजना हुन सकेको थिएन।


Author

थप समाचार
x