अर्थ / बाणिज्य

निर्माण सम्पन्न भएपछि यस्ताे देखियाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

इकागज |
चैत ११, २०७८ शुक्रबार ११:५० बजे

काठमाडौँ-  कोभिड–१९ महामारीले सिर्जना गरेका चुनौतीका बाबजुद, नेपालको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगभग सम्पन्न भएको छ ।  यो विमानस्थल युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट १९ किलोमिटर दूरीमा अवस्थित छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ । यसले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसम वा अन्य असहजताको समयमा विकल्प प्रदान गर्नेछ ।


सञ्चालन तत्परता

‘विमानस्थलको सञ्चार तथा नेभिगेसन सुविधाहरू सञ्चालनका लागि उपयुक्त रहेको सुनिश्चित गर्न थाइल्यान्डको एक प्राविधिक टोलीले गत फेब्रुअरी १८ देखि २८, २०२२ मा परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) तथा बृहद् उडान निरीक्षण गरेको थियो । उक्त टोलीले नेभिगेशन उपकरणहरू, सञ्चार उपकरणहरू, हवाई ट्राफिक नियन्त्रण सम्बन्धी प्रणाली लगायतको सुदृढता (कार्यसम्पादन)को जाँच गरेको थियो,’ परियोजनाका व्यवस्थापक प्रवीन न्यौपानेले भने ।

टर्मिनल 

१५,१६९ वर्गमिटरमा फैलिएको नव निर्मित टर्मिनल यात्रुहरूलाई स्वागत गर्न आतुर छ । अध्यागमन र भन्सार सुविधाको काम जारी छ । आगमन र प्रस्थानतर्फका हलहरूमा विद्युतीय जडानका काम भइरहेको छ । ​

धावनमार्ग 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नवनिर्मित धावनमार्गको लम्बाई ३,००० मिटर छ । सँगसँगै रहेको आन्तरिक विमानस्थलको १,५०० मिटर लामो धावनमार्गलाई समानान्तर ट्याक्सीवेको रूपमा प्रयोग गरिनेछ ।

 

कन्ट्रोल टावर 

नवनिर्मित कन्ट्रोल टावरमा आधुनिक उपकरण जडान गरी पूर्ण रूपमा तयार गरिएको छ । 

आधुनिक उपकरण र प्रविधि हस्तान्तरण 

अन्य उपकरण सहित अत्याधुनिक नेभिगेशन सहायता र सुरक्षा तथा नेभिगेशनका लागि विमानस्थलमा लाइटिङ जडान गरिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको वर्गीकरणमा ४ई मार्गदर्शन अनुसार निर्माण गरिएको छ । बोइङ र एयरबसका वा सोही प्रकृतिका यात्रुवहाक तथा कार्गो दुवैथरी ठूला व्यवसायिक विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुनेछन् । यसबाहेक, अत्याधुनिक उपकरणमा आधारित अवतरण प्रणालीले कमजोर भिजिबिलिटीका बाबजूद पनि विमान अवतरण गर्न सक्छन्, यो प्रविधि नेपालमै पहिलो हो ।​

प्रशासकीय भवन र अन्य सुविधा 

कर्मचारीहरूले यसअघिदेखि नै प्रशासकीय भवन प्रयोग गर्दै आइरहेका छन् । यस भवनको धेरै बैठक कक्षहरूमध्ये एउटा कक्षमा अहिले नेपाल सरकारका नागरिक उड्ययन इन्जिनियरहरूलाई प्राविधिक तालिम सञ्चालन भैरहेको छ । 

पार्किङ र सवारी चलाउने मार्ग प्रयोगका लागि तयार भैसकेको छ । नवनिर्मित आपत्कालीन प्रतिकार्य भवनमा दमकल र एम्बुलेन्सहरू राखिएको छ । 

 

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष हवाई उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले प्रमुख पर्यटकीय र तीर्थस्थल – भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सम्पर्क स्थापित गर्नेछ । ​

 ‘नयाँ विमानस्थल हाम्रो गौरव हो’

‘नयाँ विमानस्थल हाम्रो गौरव हो । यसले हाम्रो सहरलाई विश्वमानचित्रमा समावेश गराउनेछ । हामी वरपरका ठाउँहरूसँग आवद्धता कायम गर्दै ‘बुद्धिस्ट सर्किट प्याकेज’ मार्फत् पर्यटकको बसाई अवधि लम्ब्याउन सक्छौं ।,’ सिद्धार्थनगरका मेयर हरि प्रसाद अधिकारीले भने, ‘साथै, यो समय हामीले ठूलो सोच राख्ने र यथोचित पार्किङ सुविधा निर्माण गर्ने, फोहोरमैला व्यवस्थापन प्रणाली, हरित तथा स्वच्छ सार्वजनिक यातायात प्रणाली निर्माणका लागि योजना बनाउने समय हो जसले हामी स्मार्ट सहर बन्न सक्छौं र धेरै पर्यटकलाई स्वागत गर्न सक्छौं ।’ ​

पर्यटन, व्यापार र अर्थतन्त्रको विस्तार 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०३० सम्म ७६०,००० यात्रुलाई सेवा दिने अपेक्षा गरिएको छ, जसमध्ये २८०,००० ले लुम्बिनी भ्रमण गर्ने अनुमान छ । 

‘यस विमानस्थलले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन उद्योगको पुनर्बहालीमा मद्दत गर्नेछ,’ क्षेत्रीय सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठले भने, ‘यस क्षेत्रमा कम्तीमा २,००० होटल कोठाहरू थपिदैंछन् । हवाई सम्पर्क पर्यटक आवागमनका लागि महत्वपूर्ण हुन्छ भन्ने बुझेका लगानीकर्ताले चार–तारे र पाँच–तारे होटलमा लगानी बढाउँदैछन् ।’

त्यस्तै, मेयर अधिकारीले थप्नुभयो, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई सेवाका माध्यमबाट कम परिमाण तर उच्च मूल्यमा आधारित कृषि वस्तुको निर्यात विविधकरण सम्भव हुनेछ । यसकारण विमानस्थलले दक्षिण एसियाली देशहरूसँग नेपालको व्यापार वृद्धि गर्नेछ ।’​

नेपालको तराई क्षेत्रका जनसंख्याको लागि प्रवेशद्वार

‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै नेपालको तराई क्षेत्रबाट मलेसिया र खाडी देशहरूमा जाने प्रवासी कामदारले श्रम गन्तव्यमा सीधा उडानको सुविधा प्राप्त गर्नेछन् । त्यस्तै, श्रम गन्तव्यबाट घर फर्कदाँ पनि सीधै यस विमानस्थलको प्रयोग गर्न सक्नेछन्,’ साउदी अरबमा पाँच वर्ष काम गरेर फर्केका भुपेन्द्र थापा मगरले भने, ‘म काठमाडौँ हुँदै त्यहाँ दुई–तीन दिन बिताएर श्रम गन्तव्यका लागि उडेको सम्झन्छु । म विश्वस्त छु कि यस विमानस्थलले विदेशमा काम गर्न जाने दाजुभाई दिदीबहिनीहरूलाई सहजता प्रदान गर्नेछ ।’

राष्ट्रिय गौरवका आयोजनामा एडिबीको सहयोग

एसियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई विमानस्थलको स्तरोन्नति तथा वाइडबडी विमानलाई सेवा दिन सक्ने एउटा पूर्ण अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोग गरेको छ । विमानस्थल निर्माणको कुल लागत ७.६१ करोड अमेरिकी डलरमध्ये, एडीबीले ऋण र अनुदानमार्फत् ३.७ करोड अमेरिकी डलर तथा ओपेक कोषले ऋणमार्फत् १.१ करोड अमेरिकी डलर योगदान गरेका छन् । बाँकी लगानी नेपाल सरकारबाट प्राप्त भएको हो ।  

‘यो राष्ट्रिय गौरवको आयोजना हो, विमानस्थल निर्माण चरणमा निर्माणकार्यको निरन्तरताका लागि हामीले कुनै पनि कसर बाँकी राखेनौं । महामारी सिर्जित विविध जोखिमका बाबजुद सरकार र एडिबीको सुझाव अनुसार सुरक्षाका सबै मापदण्ड कडाइँका साथ पालना गर्दै काम अगाडि बढायौं,’ परियोजना प्रमुख प्रवेश अधिकारीले भने ।

(याे सामग्री र तस्बिरहरू एसियाली विकास बैंक (एडीबी)काे वेबसाइटबाट साभार गरिएकाे हाे । तस्बिरहरू एडीबीका लागि मधुप श्रेष्ठकाे लेन्सबाट कैद गरिएका हुन्)


Author

थप समाचार
x