उद्घाटनकाे तयारीसँगै सिँगारियो रेल [फोटो फिचर]
जनकपुरधाम - भारतको नयाँदिल्लीमा आज नेपाल–भारत द्विपक्षीय बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले कुर्था–जयनगर ३५ किलोमिटर रेल सेवाको उद्घाटन गर्दै छन् । हैदरावाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले रिमोर्टमार्फत रेलको उद्घाटन गर्ने कार्यक्रम छ ।
आजदेखि सुरु हुन लागेको रेललाई दुलही झै सिँगारिएको छ । उदघाटन पश्चात आइतबारदेखि नियमित जनकपुरधाम जयनगर रेल यात्रुसहित सञ्चालनमा आउने छ । उद्घाटनका लागि जयनगर र जनकपुर दुवै रेलवेस्टेसनमा ठूलाे मञ्च बनाइएकाे छ ।
दुवै ठाउँमा रेल उद्घाटनकाे दृश्य आम जनतालाई प्राेजेक्टरकाे माध्यमले देखाइने छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले दुई देशका प्रधानमन्त्रीले १२ बजेर २० मिनेटमा संयुक्तरूपमा भर्चुअलमार्फत बटन थिचेर तथा झण्डा हल्लाएर रेलको समुदघाटन गर्ने जानकारी दिए ।
रेल समुदघाटन पश्चात हरेक स्टेशनमा रेललाई स्वागत गरिनेछ भने हरेक स्टेशनमा विद्यार्थीहरू नेपाल र भारतको झण्डा लिएर उभिएका हुन्छन् । रेल्वे कुर्था स्टेशनमा पुगेर पूनः जनकपुरधाम स्टेशनमा फर्केपछि मञ्चमा कार्यक्रमको आयोजना गरिनेछ ।
यहाँ भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव र भारतीय रेलवे पदाधिकारीसहितका व्यक्तिले मनतव्य दिनेछन् । जनकपुरधामबाट जयनगरका लागि समान्य कोचको ७० र एसीकोचको ३ सय ५० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
२०७७ असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल नेपाल भित्राएको थियो । त्यसपश्चात जनकनन्दिनी गाउँपालिका स्थित इनर्वा स्टेशनमा पालमुनी छोपेर राखिएको थियो । गत फागुन १ गतेदेखि भने ड्राईरन सञ्चालन गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया