अर्थ / बाणिज्य

काम अलपत्र पारेको भन्दै भारतीय ठेकेदारकाे ठेक्‍का तोड्ने चेतावनी

स्थानीयले शंख फुकेर विरोध गरेका थिए

इकागज |
चैत ८, २०७७ आइतबार १२:२४ बजे

फाइल फोटो

काठमाडौं : दोलखाको मुडे-चरिकोट सडक निर्माण जिम्मा लिएका ठेकेदार कम्पनीलाई लामोसाँघु चामाकोशी जिरी सडक आयोजनाले ठेक्का तोड्ने चेतावनी दिएको छ । ठेक्का लिएर अलपत्र पारेको भन्दै आयोजनाले सकिल हैदर शंकरमाली सुनौली खिम्ती जेभीलाई यस्तो चेतावनी दिएको हो ।

गत वर्ष मंसिरमा सडक अलपत्र पारेको भन्दै ठेकेदार कम्पनीविरुद्ध दोलखाका स्थानीयवासीले दुई जोर शंख फुकेर विरोध प्रदर्शन गरेका थिए । उही ठेकेदार कम्पनीलाई ७ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ । आयोजनाले अटेरी ठेकेदार कम्पनीलाई ठेक्का तोड्ने र कालोसूचीमा राख्‍नेसम्मको कारबाही गर्न सक्छ ।


दुईवटा प्याकेजमा विस्तार भइरहेको सो सडक निर्माणमा पहिलो प्याकेजको सीमाञ्‍चल-गौरीपार्वती-सुनौला खिम्ती जेभीले काम गर्दै आएको छ। दोस्रो प्याकेजको मुडेबाट चरिकोटसम्मको ३० किलोमिटरका लागि भारतीय कम्पनी सकिल हैदर-शंकमाली-सुनौला खिम्ती जेभीले भने दुई वर्षदेखि अलपत्र छोडेको छ । स्थानीयले विरोधस्वरुप ठेकेदार कम्पनीलाई १ रुपैयाँ संकलन गरेर बुझाएका थिए  ।

२०७२ जेठ ३१ मा भ्याटसहित ९० करोड ९६ लाख ७१ हजार ७ सय ३७ रुपैयाँमा ठेक्का सम्झौता भएको र २०७४ को फागुनमा सडक चौडा तथा कालोपत्रे कार्य सक्नुपर्ने थियो । तर यो प्याकेजको अवधि सकिएपनि काम सम्पन्‍न हुन सकेको छैन् ।

पहिला पनि स्थानीयवासीले खाडीचौर-चरिकोट सडकको ठेकेदारविरुद्ध सिटी जुलुस, मानव साङ्लो, सार्वजनिक तथा निजी सवारी साधनमा काम नगर्ने ठेकेदारको फोटो टाँसी विरोध गर्दै आइरहेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तार, ढल तथा नालासहित कालोपत्रे गर्नका लागि भारतीय एक्जिम बैंकले करिब एक अर्ब २४ करोड ऋण सहयोग गरेको थियो ।

आयोजनाले सूचना जारी गर्दै भनेको छ, 'निर्धारित समयमा काम सम्पन्‍न नगरेको मात्रै छैन, कम्पनीले सडक अलपत्र पारेको छ ।'


Author

थप समाचार
x