अर्थ / बाणिज्य

स्टक क्लियरेन्स मेला बुधबारदेखि

इकागज |
चैत २२, २०७८ मंगलबार १६:५१ बजे

काठमाडौं – चैते दशैंको अवसर पारेर चैत २३ गते बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला हुने भएको छ । चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । 

इभेण्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको सबै तयारी पुरा भएको इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । उनका अनुसार बुधबार बिहान १० बजेदेखि मेला सुरु हुनेछ । मेलामा ५० भन्दा बढी स्टलमा दैनिक उपभोग्य सामग्रीका साथै वस्तु तथा सेवा उपलब्ध हुने प्रधानले बताए । 


अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएकोमा पछिल्लो वर्ष कोरोना महामारीका कारण आयोजना हुन सकेको थिएन । ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ आयोजना हुने स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा चैते दशैँका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताए । 

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यसपटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ । 

‘मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरू रहने छन्,’ भट्टले भने ।

सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । छाला जुत्ता तथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहनेछ । 

मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरू सामान किन्न आउने र बिक्रेताहरूको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ । ‘सपिंग गर्न उपभोक्ताहरू बजारमा धेरै भतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं।’ इभेण्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए ।

६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक पर्ने वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । मेला चैत २७ गते चैते दशैँका दिनसम्म सञ्चालन हुनेछ ।


Author

थप समाचार
x