अर्थ / बाणिज्य

धावनमार्गमा बजारिएर बिग्रिएको वाइडबडी जहाज मर्मत गर्दै निगम

इकागज |
चैत १०, २०७७ मगलवार १२:५० बजे

काठमाडौं : नेपाल वायु सेवा निगमले धावनमार्गमा बजारिएर बिग्रिएको वाइडबडी जहाजको मर्मत गर्ने भएको छ । निगमले मर्मत तथा नयाँ पार्ट्सका लागि बोलपत्र आह्वान गरेको हो ।

सँगसँगै नयाँ ल्यान्डिङ गियर खरिद गर्नका लागि छुट्टै प्रक्रिया अघि बढाएको वायु सेवा निगमले जानकारी दिएको छ ।


गत पुस २४ मा नेपाल वायु सेवा निगमको जहाज ‘हार्ड ल्यान्डिङ’ गराउँदा दुईवटा ल्यान्डिङ गियरमा गम्भीर समस्या आएको भन्दै जहाज निर्माता कम्पनी एयरबसले निगमलाई पत्राचार गरेको थियो । पत्रमा जहाजका मुख्य दुईवटा ल्यान्डिङ गियरमा समस्या देखिएकाले तत्काल मर्मत गर्न वा नयाँ परिवर्तन गर्न आग्रह गरिएको छ । ल्यान्डिङ गेयर जहाजको पांग्रादेखि इन्जिनसम्मको भाग हो । निगमले ल्यान्डिङ गियर नै परिवर्तन गर्ने भएको छ ।

नेपाल वायु सेवा निगमले धावनमार्गमा हवाइजहाज बजारिएर अवतरण गरेको (हार्ड ल्यान्डिङ) बारे जानकारी नगराउने पाइलटहरूलाई कारबाही गरेको थियो । २२ पुसमा दोहाबाट काठमाडौँ आएको आर ए २४० नम्‍बरको उडान काठमाडौँमा अवतरण गर्ने क्रममा 'हार्ड ल्यान्डिङ' भएको थियो । तर यो विषय करिब एक महिनापछि (२७ माघ) निगमले मात्रै फ्‍लाइट डाटा एनलाइसिस मार्फत पत्ता लागेको थियो ।

निगमले निगमका अनुसार सो जहाज क्याप्टेन सुनील श्रेष्ठ र महेशमान डंगोलले उडाएका थिए । उनीहरूलाई नियमित उडानमा रोक लगाएको थियो । निगमले यो घटनामा संलग्‍न पाइलटहरूलाई गत बुधबारदेखि नियमित उडानमा रोक लगाइसकेको छ । उनीहरूले 'म्यान्डेटरी अकरेन्स रिपोर्ट' मार्फत जानकारी गराउनुपर्नेमा त्यसो नगरेको निगमले स्पष्ट पारेको छ । समयमा जानकारी नगराएपछि उनीहरूलाई कारबाही गरेको निगमले बताएको छ ।


Author

थप समाचार
x