अर्थ / बाणिज्य

एफएनसीसीआई र कोरियन एजेन्सी कोस्मे बीच समझदारीपत्रमा हस्ताक्षर

साना तथा मझौला उद्यम व्यवसायमा सहकार्य गर्ने उद्देश्य

इकागज |
बैशाख ९, २०७९ शुक्रबार १९:३२ बजे

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सी बीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्य गर्ने उद्देश्यले आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुन ह्वान किमले हस्ताक्षर गरेका हुन् । समझदारीपत्र हस्ताक्षर कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो । 


विशेषगरी अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीको मुख्य उद्देश्य रहेको छ ।

साना तथा मझौला व्यवसायलाई युग सुहाउँदो रूपमा विकास गरी त्यसमार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । एसएमइज र स्टार्टअप्सको अवसर तथा सम्भाव्यता अध्ययन, अध्ययन भ्रमण, इन्कुवेशन सेन्टर स्थापना, प्रविधि तथा लगानी आकर्षण, साना तथा मझौला उद्यमीहरू

र स्टार्टअप्सलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिइने छ ।  
समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्ने क्रममा महासंघका अध्यक्ष गोल्छाले एसएमईज र स्टार्टअप्सको विकासमा यो समझदारीले एउटा महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरे । साथै यसको अक्षरश कार्यान्वयनमा महासंघको प्रतिवद्धता पनि जनाए ।  

अध्यक्ष गोल्छाले महासंघले ५० स्टार्टअप्स ५० लगानीकर्ता कार्यक्रम शुरुवात गरेको जानकारी दिदै नेपालमा स्टार्टअप्स र एसएमइज क्षेत्रमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह समेत गरे । 

कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुनले महासंघसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । कोरियाले एसएमइज र स्टार्टअप्समा हासिल गरेको अनुभव आदान प्रदान गर्न र सहकार्यमा महासंघ संग नजिकमा रहेर कार्य गर्ने प्रतिवद्धता जनाए । 


Author

थप समाचार
x