अर्थ / बाणिज्य

सेयर बजारमा फर्कियो 'बुल', २६०० बिन्दुको नजिक पुग्यो नेप्से

इकागज |
चैत ११, २०७७ बुधबार १५:४१ बजे

काठमाडौं : गत फागुन ९ मा २६४० बिन्दु पार गरेपछि सेयर बजार क्रमश: घट्ने धेरैको अनुमान थियो । यसबीचमा नेप्सेमा ठूलो पहिरोसमेत गयो । करिब एक महिनामा लगानीकर्ताले २५० अंकको भारी गिरावटसम्म सामना गर्नुपर्‍यो । तर, एक सातायता सेयर बजारमा फेरि हरियाली छाएको छ । सामान्य उतारचढावसँगै सेयर बजार २६०० बिन्दुको नजिक पुगेको हो । यसलाई बजारमा 'बुल' फर्किएको अनुमान गरिएको छ ।

केही समयअघि बैंकको ब्याजदर बढ्न चिन्ताले अतालिएका लगानीकर्ताहरूमा फेरि उत्साह थपिएको छ । बुधबार ४१ दशमलव ३ अंकले बढेर २५७० दशमलव २५ बिन्दुमा पुगेको हो । सबैभन्दा बढी साल्ट ट्रेडिङको सेयर मूल्यमा वृद्धि भएको छ । जसकारण ट्रेडिङ समूहमा ९ दशमलव ४ प्रतिशतको दरले वृद्धि भएको छ । सीमित कम्पनीहरू सूचीकृत भएको यो समूह एउटै कम्पनीको मूल्यमा उतारचढाव आउँदा पनि ठुलो फरक पर्ने गरेको छ ।


दिउँसो १:४५ साल्ट ट्रेडिङको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको हो । साल्ट ट्रेडिङको ९ करोड ८६ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको थियो । होटल तथा पर्यटन समूहमा समेत ५ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ ।

६ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरको वृद्धि भएको छ । हाइड्रोइलेक्ट्रीसिटी इन्भस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल), चन्द्रागिरी हिल्स, आरएसडिसी लघुवित्त, माउन्टेन हाइड्रो नेपाल र कालिका पावर कम्पनीको सेयर मूल्यमा उछाल आएको हो । बुधबार ६ अर्ब ६७ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ७२ हजार ९५७ पटकको कारोबारमा १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर किनबेच भएको छ । ६५ करोड १५ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको निफ्राको मूल्य कित्ताको ५८१ रुपैयाँ छ । अपर तामाकोशीको ४१ करोड ५७ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ ।


Author

थप समाचार
x