अर्थ / बाणिज्य

विदेशबाट उद्धार गरिएका श्रमिकहरूसँग श्रममन्त्रीको छलफल

इकागज |
बैशाख १२, २०७९ सोमवार ११:१३ बजे

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग आवास गृहमा पुगेर उनीहरूले भोगेका समस्याहरूबारे जानकारी लिएका छन् ।

काठमाडौंको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवास गृहमा मन्त्री श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग भेटेका हुन् । विदेशी भूमिमा  नेपालीहरूले भोगेका समस्याको कारण र समाधानका उपायबारे छलफल गरेका थिए । 

मन्त्री श्रेष्ठले  विदेशमा अलपत्र वा समस्यामा परेका नेपालीलाई संरक्षण गरी स्वदेश फर्काउने बिषयलाई आफूले उच्च प्राथमिकता दिएको बताए । नेपाली श्रमिकहरूको न्यायमा पहुँच तथा क्षतिपूर्ति सुनिश्चित गर्न रोजगारदाता, सरकारी निकाय, श्रमिक र म्यानपावर कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने मन्त्री श्रेष्ठले बताए । 


मलेसियामा लामो समय अलिखित हैसियत भएर बसेका, तलब भुक्तानी नपाएका, रोजगारीबाट निष्कासन गरिएका र जेलमा रहेका गरी  १० जना श्रमिकलाई उद्धार गरि नेपाल ल्याइएको थियो । 

मन्त्री श्रेष्ठले विदेशमा नेपाली श्रमिकले भोगेको समस्या समाधानका लागि सम्वन्धित देशको सरकारसँग कुरा गर्ने बताए । मन्त्री श्रेष्ठले उद्धार गरिएका श्रमिकहरुलाई नेपालमै स्वरोजगार बन्न र विदेश जानै परे सीप सिकेर तथा सवै प्रकृया बुझेर जान आग्रह समेत गरे । रोजगारदाता कम्पनी, कामदार पठाउने म्यानपावर कम्पनी तथा कामदार आफ्नै कारणले पनि धेरै नेपाली विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन् ।


Author

थप समाचार
x