अर्थ / बाणिज्य

ई–सिम ल्याउदै नेपाल टेलिकम

इकागज |
बैशाख १४, २०७९ बुधबार १७:४८ बजे

काठमाडौं – नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौता पत्रमा गत आइतबार नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने टेलिकमले जनाएको छ । 

उक्त कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिम समेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै नै प्रारम्भ हुने विश्वास व्यक्त गरिन् । 


अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । 

ई–सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ । 

हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्ने छन् भने नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ई–सिम लिन सक्ने टेलिकमले जनाएको छ । 
 


Author

थप समाचार
x