अर्थ / बाणिज्य

मलेसियामा काम गर्ने नेपाली सुरक्षागार्डको तलब ३ हजार  रिंगेट बनाउन  श्रम मन्त्रीको प्रस्ताव

इकागज |
बैशाख १८, २०७९ १४:२१ बजे

काठमाडौं – मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । 

पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको छ । 
मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्ड सहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको बिषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको बताए । श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब ३ हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गरेका छन् । 


नेपाली कामदार मेहनति र इमान्दार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताए । नेपाली युवाहरूलाई सीपयुक्त बनाइ थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शुन्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने वीमा सुविधाको व्यवस्थाबारे पनि  उनीहरुबीच छलफल भएको थियो । 

नेपालमा सुरक्षा गार्ड सम्वन्धि तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उनीहरुबीच छलफल भयो । नेपालबाट सुरक्षागार्डमा जानेहरूमा पूर्वसेना वा पूर्वप्रहरीका साथै आधारभूत तालिम लिएका युवाहरु छन् । पूर्वगोर्खा ब्रिटिश सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गार्ड्सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकोले समयानुकुल तालिम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्ने भेटवार्तामा सहभागि मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । 

छलफलमा भएका विषयलाई औपचारिकता दिन छिट्टै द्विपक्षीय समझदारी हुनेछ । भेटवार्तामा कार्यवाहक राजदूत मोतिबहादुर श्रीस पनि सहभागि थिए । यसअघि मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सराभननसँग गरेको द्विपक्षीय बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो । साथै नेपाल र मलेसियाबीच संयूक्त कार्यदलको तेस्रो बैठक छिटै  काठमाडौंमा गर्ने सहमति पनि भएको छ । 

मन्त्री श्रेष्ठको नेतृत्वमा भएको उच्चस्तरीय टोलीले मलेसियास्थित सामाजिक सुरक्षा संस्था (सोस्को) समेत भ्रमण गरेको थियो ।
 



Author

थप समाचार
ad
x