अर्थ / बाणिज्य

गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गरे एडीबी सहयोगको प्रशंशा

इकागज |
जेठ २, २०७९ सोमबार १६:३३ बजे

भैरहवा- प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । यो विमानस्थल एसियाली विकास बैंक (एडीबी)को सहयोगमा निर्माण सम्पन्न भई आजदेखि अन्तर्राष्ट्रिय विमानहरूको व्यवसायिक उडान सुरु भएको हो । 

प्रधानमन्त्री देउवाले आजको दिन नेपालको उड्ययन र पर्यटनका क्षेत्रका लागि ऐतिहासिक दिन भएको बताउँदै यस विमानस्थलले समग्रमा नेपालको विकास र समृद्धिमा योगदान गर्ने बताए । 


विमानस्थल उद्घाटन समारोहमा बोल्दै एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले महामारीको कठिन परिस्थितिका बाबजुद विमानस्थल निर्माण सम्पन्न गर्न सफल भएकोमा बधाई दिदैं यस विमानस्थलले प्रमुख पर्यटकीय तीर्थस्थल लुम्बिनीलाई दक्षिण एसिया र अन्य बुद्ध सर्किटसँग सम्पर्क स्थापित गर्ने उल्लेख गरे । वृहत्तर सन्दर्भमा विमानस्थल नेपालको समग्र पर्यटन क्षेत्रको विस्तार, व्यापार वृद्धि, आर्थिक क्रियाकला, स्थानीय रोजगारी अभिवृद्धि र प्रवासी श्रमिकका लागि यातायातको पहुँचमा विस्तार हुने बताए ।  

विमानस्थल युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीबाट १९ किमीको दूरीमा रहेको छ । विमानस्थलमा वाइडबडी जहाज अवतरण र उडान गर्न सक्छ । यसमा १५,१६९ वर्ग मिटर टर्मिनल भवन तथा ३,००० मिटर लामो धावनमार्ग भएको छ । यसका साथै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एड्भान्स्ड इन्स्ट्रुमेन्टल ल्यान्डीङ सिस्टमको प्रयोग गरी कम भिजिबिलिटी हुँदा पनि जहाज अवतरण गर्न मिल्ने व्यवस्था मिलाइएको बताइएको छ । 

विमानस्थल उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भएको बताउँदै अब खराब मौसमले वा अन्य प्राविधिक कारणले जहाज डाइभर्ट गर्दा देशभित्रैको विमानस्थल प्रयोग गर्न सकिने उल्लेख गरे । 

प्रधानमन्त्री देउवा र आलेले एडीबीको सहयोगको प्रशंशा गर्दै धन्यवाद समेत दिएका थिए । 

एडीबीले दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सहयोग गरेको हो । विमानस्थल निर्माणको कुल लागत ७.६१ करोड अमेरिकी डलरमध्ये, एडीबीले ऋण र अनुदानमार्फत् ३.७ करोड अमेरिकी डलर तथा ओपेक कोषले ऋणमार्फत् १.१ करोड अमेरिकी डलर योगदान गरेका छन् । बाँकी लगानी नेपाल सरकारबाट प्राप्त भएको हो ।  

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०३० सम्म ७६०,००० यात्रुलाई सेवा दिने अपेक्षा गरिएको छ, जसमध्ये २८०,००० ले लुम्बिनी भ्रमण गर्ने अनुमान छ । 
एडीबीको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाले नेपालका अतिरिक्त बंगलादेश र भारतमा पनि प्रमुख पर्यटकीय स्थलका पूर्वाधारको स्तरोन्नतिमा सहयोग गर्दै आएको छ । 

यो पनि पढ्नुहोस् 

निर्माण सम्पन्न भएपछि यस्ताे देखियाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल


Author

थप समाचार
x