अर्थ / बाणिज्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य पुन: बढेर आयो

इकागज |
जेठ २, २०७९ सोमबार १९:१ बजे

काठमाडौँ - नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य पुन: बढेर आएको छ । प्रत्येक १५ दिनमा मूल्य सूची पठाउँदै आएको आईओसीले नयाँ मूल्य सूची पठाएको हो। यससँगै निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ । यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.०२ रुपैयाँमा थियो ।

डिजेलको खरिद मूल्य १८८.३३ पुगेको छ भने मट्टितेलको खरिद मूल्य १ सय ४० रूपैयाँ ३६ पैसा पुगेको छ। निगमले जारी गरेको विज्ञप्तिमा भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत अनुसार प्रतिलिटर पेट्रोलमा २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको छ ।


दुई दिनअघि मात्रै निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो । युक्रेन युद्ध जारी रहेकै बीच पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य अझै बढेर गएको निगमको भनाइ छ । यो परिस्थितिमा खरिद मूल्य बढ्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिव ४ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने देखिएको निगमको भनाइ छ ।


Author

थप समाचार
x