फुटबल

मकवानपुर गोल्डकप १९ जेठदेखि

सरिता दाहाल |
जेठ १२, २०७९ बिहिवार १९:४२ बजे

मकवानपुर । हेटौंडामा स्थानीय तह चौथो शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । शहीद स्मृति गोल्डकप फुटबल  १९ देखि २८ जेठसम्म हेटाैडामा सञ्चालन हुनेछ ।

प्रतियाेगिता सम्बन्धमा विहीबार पत्रकार सम्मलेन गरेर आयोजक मकवानपुर जिल्ला फुटबल संघले जानकारी गराइएकाे हाे । हेटौंडाको पिप्ले क्याम्प रंगशालामा हुने फुटबल प्रतियोगितामा स्थानीय,राष्ट्रिय र अन्तराष्ट्रिय क्लब गरेर १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।


पत्रकार सम्मेलनमा संघका सल्लाहकार एवं प्रतियोगिताका संयोजक प्रताप विष्टले फुटबल संघको जिल्ला अधिवेशनको कारण प्रतियोगिता गर्न ढिलाई भएको बताउँदै  १९ जेठबाट हुने गोल्डकपको तयारी तीब्र पारिएको बताए ।

यसवर्षबाट प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई प्रदान गरिने पुरस्कारको राशि बढाईएको छ । यसवर्ष प्रतियोगिताको विजेता टोलीले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलीले १० लाख प्राप्त गर्ने बताए । यसअघि,भएको तेस्रो गोल्डकप विजेताले १० लाख र उपविजेताले ५ लाख हात पारेको थियो ।

यसैगरी प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले ५० हजार, विधागत उत्कृष्ट खेलाडीले २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,नेपाल एपिएफ क्लब, फेन्च क्लब काठमाण्डौ, कुमारटाल युवा क्लब, सिमरा, सर्लाही बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन ११ र विदेशी क्लब एबिनियर एफसीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १ करोड १७ लाख ९२ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा मकवानपुरको १० वटै स्थानीय तहको आर्थिक सहयोग रहने छ ।

२०६२–०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना जिल्ला फुटबल संघ मकवानपुरले गरेको थियो । उक्त संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । यसैगरि,२०७६ मा भएको तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।


Author

थप समाचार
x