फुटबल

सामाजिक सञ्जालमार्फत खेलाडीमाथि दुर्व्यवहार : यसले कस्तो असर गर्छ ?

सञ्जीव शाह |
जेठ २३, २०७९ सोमबार १४:३४ बजे

काठमाडौँ – पछिल्लो समयमा चर्चित खेलाडीहरूले समेत सामाजिक सञ्जालमार्फत दुर्व्यवहार भोग्दै आएका छन् । अन्य देशमा झैँ नेपाली खेलाडीहरूलाई पनि दिनहुँ सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्ने गरेको देखिन्छ ।  

तर पछिल्लो केही समयदेखि नेपाली फुटबल टिमका चर्चित खेलाडीहरूले पनि दिनहुँ सामाजिक सञ्जालमार्फत दुर्व्यवहार भोगिरहेका छन् । त्यसमाथि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकका कारण बन्द प्रशिक्षण छाड्न बाध्य भएको जनाएपछि फुटबल खेलाडीहरूमाथि निरन्तर दुर्व्यवहार हुने गरेको छ ।


उदाहरणका लागि नेपाली फुटबल टिमका मिडफिल्डर रोहित चन्द ठकुरीले अप्रिल १६ मा फेसबुकमा केवल फोटो पोस्ट गर्दा उनीविरुद्ध अशोभनीय भाषामा 'कमेन्ट' गरिएका थिए ।

त्यतिमात्र नभएर अप्रिल १४ मा उनले नयाँ वर्ष २०७९ को शुभकामना दिँदा समेत उनीमाथि  नकारात्मक प्रतिक्रिया (कमेन्ट) गरियो । मार्च ३० मा राखेको अर्को फोटोमा समेत रोहितमाथि नकारात्मक कमेन्ट गरिएका छन् । त्यतिमात्र नभएर उनले सामाजिक सञ्जाल फेसबुकमा राख्ने पछिल्ला सबै पोष्टहरूमा नकारात्मक कमेन्ट आउने गरेका छन् ।

त्यसैगरी फरवार्ड अन्जन विष्टले सामाजिक सञ्जालमा पोष्ट गर्ने तस्बिर, भिडियो वा 'स्टेटस'मा नकारात्मक तथा दुर्व्यवहार गर्ने खालका प्रतिक्रिया आउने गरेका छन् ।

अन्जन विष्टले जुन २ तारिखमा पुरानो पोष्टलाई पुनः राख्दा त्यसमाथि अभद्र कमेन्ट गरिएको थियो । मे १७ तारिखमा राखिएको एउटा भिडियोमा समेत नकारात्मक कमेन्ट गरिएको छ । त्यतिमात्र नभएर मे १६ मा उनले आफ्नो जन्मदिनको शुभकामना दिनेलाई धन्यवाद दिँदै गरेको पोष्टमा समेत नकारात्मक कमेन्ट गरिएका छन् ।

अर्को उदाहरणको रुपमा गोलरक्षक किरण चेम्जोङ पनि सामाजिक दुर्व्यवहारमा परिरहेका छन् । किरण चेम्जोङले मे १६ मा पोष्ट गरेको एक भिडियोमा उनीविरुद्ध नकारात्मक टिप्पणी गरिएको छ । मे १३ मा किरणले आफ्नो फोटो पोष्ट गर्दा त्यसमा पनि नकारात्मक शब्दहरू प्रयोग गरिएका छन् । मे ६ पनि उनले राखेको अर्को भिडियोमा पनि नकारात्मक कमेन्ट गर्दै उनीमाथि दुर्व्यवहार गरिएको छ ।

अर्का मिडफिल्डर सुजल श्रेष्ठले जुन २ तारिखमा राखेको एक फोटोमा उनलाई देश द्रोहीको आरोप समेत लगाइएको छ । यी त केही उदाहरणमात्र हुन । प्राय:जसो खेलाडीहरूले समाजिक सञ्जालमार्फत दुर्व्यवहारमा पर्ने गरेका छन् ।

सामाजिक सञ्जालबाट हुने दुर्व्यवहारले खेलाडीलाई असर गर्छ ?

सामाजिक सञ्जालमा गरिने दुर्व्यवहारले भने खेलाडीहरूमाथि नकारात्मक असर पर्ने गरेको छ । जसका कारण उनीहरूले आफ्ना पोष्टमाथि गरिएका टिप्पणीहरू हेर्न खोज्दैनन् ।  

फरवार्ड अन्जन विष्टले समर्थकहरूको नकारात्मक टिप्पणीले नरमाइलो लाग्ने गरेको इकागजलाई बताए । उनले देशका लागि राम्रो गर्दा ताली बजाउने समर्थकले गर्दै नगरेको गल्तीमा नकारात्मक टिप्पणी गर्दा नराम्रो लाग्ने बताए ।

‘साफमा नेपाललाई फाइनल पुर्‍याउदा ताली बजाएका समर्थकहरूले आफूहरूले गर्दै नगरेको गल्तीमा गाली गर्दा तथा नकारात्मक टिप्पणी गर्दा दुखः लाग्छ,’ विष्ट थप्छन् ।

तर त्यस्ता टिप्पणबाट जोगिन विष्टले एउटा उपाय अपनाएका छन् अर्थात उनले 'कमेन्ट' हेर्नै छाडेका छन् । ‘सकेसम्म कमेन्ट हेर्दिनँ र आफूलाई 'डिमोटिभेटेड' बनाउँदिनँ,’ विष्ट भन्छन्।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x