फुटबल

एन्फा अध्यक्ष नेम्वाङ : चुनौतीको चाङमाथि आफ्‍नै प्रतिबद्धता भारी

सञ्जीव शाह |
असार ७, २०७९ मगलवार १२:३७ बजे

काठमाडौँ– निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा नेतृत्वले नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको भन्दै उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ अन्ततः अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएका छन् । उनीसँग काम गर्न स्पष्ट बहुमत पनि छ ।

शेर्पाकै नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पदमा बसेर पनि प्रशिक्षक-खेलाडी विवादमा खेलाडीमाथि न्याय गर्न नसकेको, एन्फामा सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता, आर्थिक पारदर्शिता र सामूहिक नेतृत्व प्रदान गर्न नसकेको भन्दै निवर्तमान अध्यक्ष शेर्पाको आलोचना गरेका नेम्वाङ अब आफै नेतृत्वदायी भूमिकामा आइपुगेका छन् ।


नेम्वाङका चुनौतीहरू के-के छन् ? 

सबैभन्दा पहिले नेम्वाङले प्रशिक्षक-खेलाडी विवादबारेमा निर्णय गर्नु आवश्यक छ । किनभने नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बाध्य पारेको भन्दै फुटबल टिमको बन्द प्रशिक्षण छाडेका ११ खेलाडी तथा उनीहरूको समर्थनमा उत्रेका अन्य खेलाडीले एएफसी एसियन कपको तेस्रो चरणको छनोटमात्र गुमाएनन् खेलाडीहरूको भविष्य के हुने भन्ने कुनै टुंगो एन्फाले लगाउन सकेको छैन । 

विवादबारे छानविनका लागि गठन भएको कार्यदलले अलमुताइरीलाई बर्खास्त गर्नुपर्ने तथा खेलाडीहरूलाई भविष्यमा गल्ती नदोहर्‍याउने गरी चेतावनी दिनुपर्ने जस्ता सुझाव दिए पनि सुझावबारे निर्णय हुन सकेको छैन ।

अर्को चुनौती भनेको चुनावअघि विभिन्न ८ काम गर्ने प्रतिबद्धता पूरा गर्नु हो । एन्फा सचिवालयलाई चुस्त दुरुस्त बनाउने, राष्ट्रिय फुटबल लिगलाई निरन्तरता दिने, ए, बी र सी डिभिजन फुटबल लिगलाई व्यवस्थित बनाउने, काठमाडौँका क्लबहरूको अभ्यासका लागि खेल मैदान उपलब्ध गराउने, ग्रासरूटलाई व्यवस्थित बनाउने, मोफसलका टिमलाई बलियो तथा उमेर समूहलाई वैज्ञानिक तरिकाले अघि बढाउने प्रतिबद्धता पूरा गर्नुपर्नेछ । 

त्यतिमात्र शेर्पाले एकलौटी निर्णय गर्ने गरेको दाबी गर्ने नेम्वाङले सामूहिक नेतृत्व झल्कने उदाहरणीय काम गर्नुपर्नेछ ।

बजेट विकेन्द्रिकृत तथा अधिकार विकेन्द्रिकृत गर्नु पनि नेम्वाङसामू ठूलो चुनौतीको रूपमा रहनेछ । एन्फामा सुशासन, भ्रष्ट्राचारमा शून्य सहनशीलता तथा आर्थिक पारदर्शिताका लागि खडो उत्रन सक्नु पनि उनका लागि ठूलै चुनौती हुनेवाला छ । 

संस्थाका हरेक निर्णय विधि, विधान र नियमावलीसम्मत गर्नुपर्ने चुनौती त छँदैछ, नेम्वाङका लागि क्लब तथा जिल्लाहरूलाई आर्थिक तथा प्रशासनिकरूपमा बलियो बनाउने अर्को चुनौती हुनेछ । खेलाडी तथा प्रशिक्षकका लागि सौहार्दपूर्ण वातावरण तथा उनीहरूलाई केन्द्रविन्दुमा राखेर योजनाहरू बनाउनुपर्नेछ । 

नेपालका सञ्चालित सबै डिभिजनका लिगलाई व्यवस्थित गर्नुका साथै राष्ट्रिय लिग गर्नु तथा यसलाई निरन्तरता दिन सक्नु पनि चुनौतीकै रूपमा रहेको छ । यसबाहेक ग्रासरूट, युथ तथा महिला फुटबललाई व्यवस्थित गर्नुपर्नेछ । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफा तथा एएफसीका साथै साफसँगको सम्बन्ध सुधार गर्नुका साथै विभिन्न फुटबल संघसँग आपसी सहयोग आदान प्रदानका लागि नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने पनि चुनौतीकै रूपमा रहनेछ । 

फुटबल खेल तथा पूर्वाधार विकासका लागि स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वय गर्नुपर्नेछ । 

ग्रासरूट फुटबलको विकास तथा खेलाडी उत्पादनका लागि विभिन्न क्लबलाई एकेडेमी सञ्‍चालनमा सहयोग गर्नु, सबै प्रदेश तथा बढीभन्दा बढी जिल्ला एकेडेमी सञ्‍चालन तथा निरन्तरता दिन सक्नु पनि नेम्वाङका लाग चुनौतीपूर्ण नै रहनेछ । 

सबैभन्दा ठूलो चुनौती भनेको नेपाली टिमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई सकारात्मक नतिजा दिलाउने गरी तयारी र पर्याप्त लगानी सुनिश्चित गर्नु रहनेछ । 

यो पनि 

 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x