फुटबल

फिफा विश्वकप २०२२

कतारमा अपार्टमेन्ट र घरलाई होटल बनाइँदै, १२ हजार कर्मचारीको माग

इकागज |
असार १५, २०७९ बुधबार १४:११ बजे

काठमाडौँ - होटल सञ्चालक एकोरले २०२२ फुटबल विश्वकपका लागि अस्थायी समर्थक आवासको रूपमा कतारमा अपार्टमेन्ट र घरहरूमा ६५ हजार खाली कोठाहरु सञ्चालन गर्न १२ हजार अस्थायी विदेशी कर्मचारीहरू भर्ती गर्ने भएको छ । 

कतारले विश्वकपको समयमा आवासको अभाव हुन नदिन काम गरिरहेको र अस्थायी आवास व्यवस्थापनका लागि युरोपको सबैभन्दा ठूलो होटल सञ्चालक एकोरलाई जिम्मा दिइएको रोयटर्सले जनाएको छ । 


’६५ हजार कोठाहरु भनेको ६ सय होटल खोल्नु बराबर हो, त्यसैले हामीले यसलाई सञ्चालनका लागि पर्याप्त कर्मचारी भर्ती गर्दैछौ,’ एकोरका अध्यक्ष र सीईओ सेबास्टियन बाजिनले बताए । 

बाजिनले एसिया, अफ्रिका, युरोप र दक्षिण अमेरिकाबाट हाउसकीपर, फ्रन्ट-डेस्क, विशेषज्ञ तथा अन्य कर्मचारी भर्ती गर्ने काम भइरहेको बताए । उनले डिसेम्बरसम्मका लागि कर्मचारी भर्ती गरिने जनाए । 

कतारको आधिकारिक विश्वकप आवास वेबसाइटले अहिलेसम्म लगभग २५ हजार बुकिङहरू प्राप्त गरेको छ र यसले १ लाख भन्दा बढी कोठाहरू प्रदान गर्ने बताइएको छ । 

कतारले नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म विश्वकप आयोजना गर्दै छ र कतारले १२ लाख विदेशी नागरिक विश्वकप हेर्न आउने अपेक्षा गरेको छ । 

तर कतारसँग केवल ३० हजार होटलको कोठाहरु रहेको छ । 
 


Author

थप समाचार
x