फुटबल

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र भारत भिड्दै

प्रशिक्षक केसी भन्छन्- सबै प्रतिस्पर्धीलाई एकै नजरले हेरिरहेका छौँ

इकागज |
साउन १५, २०७९ ६:३९ बजे

फाइल तस्बिर

काठमाडौं - साफ यू-२० च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।

भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियो ।


नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ ।

भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध जितका लागि खेल्ने बताउँछन् । ‘हामी नेपालबाट भारत आउँदा नै चारवटा देशसँग खेल्न भनेर आएका हौँ, र हामीले सबै प्रतिस्पर्धी टिमलाई एकै नजरले हेरिरहेका छौँ । हामी हाम्रो टिममा विश्वास गर्छौँ । नेपालले मेहनत अनुसारको प्रदर्शन गर्नेमा ढुक्क छु । नेपालले भारतविरुद्ध जितका लागि खेल्नेछ,’ केसीले भने ।  

प्रशिक्षक केसीका अनुसार टिममा कुनै समस्या नरहेको तथा कुनै पनि खेलाडी घाइते नरहेको बताए ।



Author

थप समाचार
ad
x