फुटबल

अलमुताइरीको 'दादागिरी'सामु निरीह एन्फा

सञ्जीव शाह |
साउन २५, २०७९ बुधबार १२:१३ बजे

काठमाडौँ- नेपाल राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध विश्व फुटबलको सर्वोच्च निकाय फिफा तथा एसियन फुटबल कन्फेडेरेसन (एएफसी)मा जाने चेतावनी दिएका छन् । ​अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत एन्फाका केही पदाधिकारीहरूले जानीजानी आफ्नो छवि धमिलो पार्न झुटो सूचना फैलाएको भन्दै एन्फाविरुद्ध फिफा वा एएफसीमा जाने चेतावनी दिएका हुन् । 

‘म कसैको धम्की सहने छैन र आवश्यक परे फिफा वा एएफसीमा जान तयार छु,’ उनले फेसबुकमा राखेको दुई पृष्ठ लामो पत्रमा भनेका  छन् । 


खासमा एन्फाका महासचिव किराण राईले राष्ट्रिय टिमका खेलाडीसँगको विवादबारे छानबिन समितिले बुझाएको प्रतिवेदनमाथि धारणा माग गर्दै गत साता लेखेको पत्रको प्रशिक्षक अलमुताइरीले केही जवाफ दिएका थिएनन् । 

तर अलमुताइरीले मंगलबार साँझसम्म आफूलाई एन्फाबाट कुनै पत्र प्राप्त नभएको दाबी गर्दै एन्फाको कुनै पनि प्रश्नको जवाफ दिन असम्भव भएको  समेत बताएका छन् । अलमुताइरीले भने एन्फाबाट नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण खेलका लागि मात्र जानकारी गराइएको दाबीसमेत गरे । उनले सेप्टेम्बरको फिफा डेमा खेलिने मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको प्रारम्भिक सूची एन्फालाई पनि पठाएका थिए । 

राईका अनुसार अलमुताइरीले २६ खेलाडीको सूची पठाएको बताए । अमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत बैशाख १३ मा नेपाली टिमको बन्द प्रशिक्षण छाडेका १० मध्ये केवल दुई खेलाडी (अन्जन विष्ट र तेज तामाङ) लाई मात्र उनले टिममा बोलाएका छन् । जबकी एन्फाले बन्द प्रशिक्षण छाडेका रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, तेज तामाङ र अन्जन विष्टलाई राष्ट्रिय टिममा फिर्ता बोलाउने एन्फाले निर्णय गरेको थियो ।

यता एन्फाका महासचिव राईले मंगलबार पुनः उनलाई पत्र पठाएका थिए । जुन अलमुताइरीले केवल एक घण्टाअघि मात्र प्राप्त भएको मंगलबार राति फेसबुकमा राखेको पत्रमा उल्लेख छ । 

तर अलमुताइरीले एन्फाबाट स्पष्टीकरण माग गर्दै आएको पत्रमा जवाफ दिनको लागि कुनै समयसीमा नतोकिएको तथा यसबारे आफ्ना वकिलसँग छलफल गरेरमात्र प्रश्नहरूको जवाफ दिने उल्लेख गरेका छन् ।

‘मैले तुरुन्तै जेनेभामा मेरो वकिलसँग सल्लाह गरेको छु । जसले मलाई यस मुद्दामा सल्लाह दिनेछन् । यसबाहेक, फिफाको नियम अनुसार खेलाडीलाई टिममा राख्ने वा नराख्ने प्रशिक्षकको निर्णय हुने र यो नियम एन्फाले पालना गर्नुपर्छ । मैले सुरुदेखि नै 'टास्क फोर्स' गठनको वैधानिकतामाथि प्रश्न उठाएको छु। यद्यपि म यस विषयमा मौन रहेको थिएँ,’ अलमुताइरीले भनेका छन् । 

यता एन्फाले भने अलमुताइरीले दिएको चेतावनीबारे मुख खोल्न चाहेको छैन । अलमुताइरीको दादागिरीसामु एन्फा निरीह देखिएको छ । एन्फा पदाधिकारी प्रतिक्रियाविहीन देखिएका छन् । 

 एन्फाका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काले तत्काल अलमुताइरीले दिएको चेतावनीका बारे केही धारणा नराख्ने बताए । बिहीबार बस्ने एन्फा कार्यसमिति बैठकमा छलफल गरेर निष्कर्ष निकाल्ने उनको भनाइ छ । 

त्यसैगरी, एन्फाका महासचिव किरण राईले प्रशासनिक कुरा भएको कारण आफूले यसबारे धारणा राख्न नसक्ने दाबी गरे । उनले पनि सबै विषयमा बैठकमै छलफल हुने बताए । 

‘बैठकमा अलमुताइरीलाई मुख्य प्रशिक्षकमा राख्ने वा नराख्ने साथै उनले राखेको धारणासहित अन्य विषयमा समेत छलफल हुनेछ,’ राईले भने । राईका अनुसार एन्फा र अलमुताइरीबीच सन् २०२३ सम्मको सम्झौता भएको तर यसबारे थप अध्ययन गरिनेछ । 

अर्कोतर्फ अलमुताइरीले पनि आफ्नो सम्झौता अन्त्य नभएसम्म निरन्तर काम गर्ने दृढ इच्छा रहेको समेत पत्रमा उल्लेख गरेका छन् ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x