फुटबल

फिफा प्रतिबन्धः भारतले साफ च्याम्पियनसीपसँगै तत्काल के-के गुमाउँछ ?

इकागज |
साउन ३१, २०७९ मंगलबार ११:१७ बजे

काठमाडौँ- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथि प्रतिबन्ध लगाएपछि भारतले कुनै पनि प्रतियोगिता खेल्न तथा आयोजना गर्न नपाउने भएको छ ।

प्रतिबन्धसँगै भारतले तत्कालीन रुपमा कैयौँ अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गुमाउनु पर्नेछ । भारतले नेपालमा सेप्टेम्बर ६ देखि १९ तारिखसम्म आयोजना हुने साफ महिला च्याम्पियनसीप तथा श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुने साफ पुरुष यू-१७ च्याम्पियनसीप खेल्न नपाउने भएको हो । 


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अघिल्ला पाँचवटै संस्करणको विजेता भारतसँगै नेपाल, भुटान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र पाकिस्तानको सहभागिता हुने भएको थियो । तर भारतमाथिको प्रतिबन्धपछि केवल ६ टिमको सहभागिता रहनेछ । 

त्यसैगरी, यू-१७ च्याम्पियनसीपमा भारतसँगै श्रीलंका, माल्दिभ्स, बंगलादेश, नेपाल र भुटानको सहभागिता हुने भएको थियो । 

यता भारतले अक्टोबर ११ देखि ३० तारिख सम्म आयोजना गर्ने भनेको यू-१७ महिला विश्वकप समेत आयोजना गर्न नपाउने भएको छ । 

प्रतिबन्ध फुकुवा नभए भारतको पुरुष राष्ट्रिय टिमले आगामी वर्ष हुने एएफसी एसियन कप पनि गुमाउने छ । 

त्यसका साथै उजबेकिस्तानमा सन् २०२३ को मार्च १ देखि १८ तारिखसम्म आयोजना हुने एएफसी यू-२० एसिया कपका लागि इराकमा सेप्टेम्बर १४ देखि १८ सम्म इराकमा हुने छनोट प्रतियोगिता पनि भारतले गुमाउने भएको छ । 

फिफाको प्रतिबन्धसँगै एएफसी महिला क्लब च्याम्पियनसीप खेल्न उजबेकिस्तान पुगेको भारतीय क्लब गोकुलम केरलाले च्याम्पियनसीप गुमाउने भएको छ । 
 


Author

थप समाचार
x