फुटबल

रश्मीको एक गोल, जसले तोडिदियो भारतको एकल वर्चश्व

सञ्जीव शाह |
असोज १, २०७९ शनिवार १०:४४ बजे

काठमाडौँ- काठमाडौँमा जारी साफ महिला च्याम्पियनसीपको दोस्रो सेमिफाइनल खेलमा नेपालका लागि रश्मी कुमारी घिसिङले ऐतिहासिक गोलमात्र गरिनन्, सोही गोलले साफमा भारतको एकलौटी वर्चश्व पनि अन्त्य  गरेको छ । 

सुरुमा समूह चरणमा बंगलादेशले अघिल्ला पाँचवटै संस्करण विजेता भारतलाई ३-० गोल अन्तरले पराजित गर्दै साफमा कायम रहेको २५ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको थियो । यस अघिका पाँचवटै संस्करणको २३ खेलमा अपराजित भएर आएको भारतले समूह चरणमा दुई खेल जित्दै अपराजित यात्रा कायमै राख्ने मनसायमा थियो । तर बंगलादेशले त्यसमाथि ‘ब्रेक’ लगायो ।


यसको अर्थ भारतले पुनः सेमिफाइनलमा नेपालको सामना गर्नुपर्ने तय भयो । यसअघि पाँचवटै संस्करणको उपाधि जित्दा फाइनलमा चार तथा सेमिफाइनलमा एक पटक नेपाललाई नै पराजित गरेर भारत अघि बढेको थियो । 

तर, घरेलु मैदान, घरेलु समर्थक तथा समूह चरणमा भारतले भोगेको पराजयसँगै हौसिएको नेपालले साफमा उनै भारतविरुद्ध ऐतिहासिक जित हात पार्‍यो । त्यो पनि रश्मीको एकमात्र गोलमा । पहिलो हाफको इन्जुरी समयमा प्रिति राईले दिएको पासमा डिबक्सबाट उत्कृष्ट गोल गर्दै नेपाललाई ऐतिहासिक जित दिलाइन् ।

साफ महिला च्याम्पियनसीपको १२ वर्षे इतिहासमा नेपालले पहिलो पटक भारतलाई पराजित गर्‍यो, त्यो पनि सेमिफाइनलमा । नेपालले अब सोमबार हुने फाइनलमा बंगलादेशको सामना गर्नेछ । 

साफमा पहिलो पटक भारतमाथि जित निकालेपछि नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले ऐतिहासिक जितमा खुसी देखिए । यसअघि पनि सन् २०१६ मा भारतसँग सेमिफाइनलमा पराजित हुँदा कुमार थापा नै नेपाली टिमका प्रशिक्षक थिए । र उनले यस पटक अघिल्लो संस्करण भन्दा कम गल्ती गरेका कारण नेपाली टिमले जित निकालेको प्रतिक्रिया दिए । 

‘हामीले यो जितका लागि १२ वर्ष प्रतिक्षा गर्नुपर्‍यो । हामीले पाएको अवसर सदुपयोग गर्नुका साथै गल्ती पनि कम गर्‍यौ,’ थापाले भने । 

भारतीय टिमका मुख्य प्रशिक्षक सुरेन कुमार क्षेत्रीले पनि नेपाल जित्न लायक रहेको प्रतिक्रिया दिए । 

प्रतियोगिता सुरु हुनुअगावै प्रशिक्षक कुमार थापाले पटक पटक नेपालको अन्य सहर भन्दा काठमाडौँ त्यो पनि दशरथ रंगशालामा फुटबल खेल्दा अर्कै माहोल हुने बताउँदै आएका थिए । 

र साच्चै नै भारतविरुद्ध नेपालले दर्शकको खुलेरै समर्थन पाए । ७ हजार २ सय ५० भन्दा बढी दर्शकले टिकट काटेर सो खेल हेर्न मैदान छिरेका थिए । र खेल अवधिभरी नै नेपालले दर्शकको समर्थन पाइरहे । र खेलाडीहरूलाई हौसला दिइरहे । खेल अन्त्य नेपालले जित्यो र इतिहास रच्यो । 
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x