फुटबल

‘फ्यानले ऊर्जा दिन्छ, हामी ट्रफी दिन्छौँ’

इकागज |
असोज २, २०७९ आइतबार १३:४१ बजे

काठमाडौँ- साफ महिला च्याम्पियनसीप फुटबलको फाइनल दशरथ रंगशालामा सोमबार साँझ ५ बजेबाट सुरु हुँदैछ । फाइनलमा पहिलो पटक घरेलु टोली नेपाल र बंगलादेश भिड्दैछन् । 

साफ महिला च्याम्पियनसीपको इतिहासमा पहिलो पटक अघिल्ला पाँचवटै संस्करणका विजेता भारत फाइनलमा हुनेछैन भने फाइनलमा नेपाल र बंगलादेश भिड्दा यसपटक नयाँ च्याम्पियन हुने सुनिश्चित भइसकेको छ । 


यस पटक साफको च्याम्पियनसीप नेपालमै राख्ने नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापा बताउँछन् । फाइनल अघि आयोजित प्रि-म्याच कन्फ्रेन्सका क्रममा प्रशिक्षक थापाले नेपालको लक्ष्य नै ट्रफी नेपालमै राख्ने हो । 

‘हामी इतिहास बनाउँन चाहन्छौ र आगामी दुई वर्ष साफको ट्रफी नेपालमै राख्न चाहन्छौँ,’ थापाले भने । ‘हामी दर्शकलाई निराश पार्न चाहान्नौँ । समर्थकले ऊर्जा दिन्छ, हामी ट्रफी दिन्छौँ।’

थापाले नेपालको कम गल्ती गर्ने र उपाधि जित्ने लक्ष्य रहेको थपे । 

यता कप्तान एन्जिला सुब्बाले बोलेर भन्दा पनि गरेर देखाउँने बताइन् । उनले नेपाली खेलाडी शारीरिक तथा मानसिक रूपमा बलियो रहेको दाबी गरिन् । ‘हामी गल्ती कम गर्छौ र उपाधि जित्छौँ,’ उनले थपिन् ।

यता बंगलादेशका प्रशिक्षक गोलाम रोबानीले बंगलादेशले पटक-पटक ठूला घरेलु समर्थक माझ खेलिसकेका कारण नेपालविरुद्ध घरेलु मैदानमा खेल्दा त्यति दवाव नहुने बताए । 

उनले पनि बंगलादेशको टिम नेपालविरुद्धको फाइनल खेल्न तयार रहेको दाबी गरे । ‘बंगलादेश फाइनल खेल्न तयार छ । हाम्रा खेलाडीहरू मानसिक र शारीरिक रूपमा बलियो स्थितिमा रहेका छन् । हामी यसपटक इतिहास रच्न चाहन्छौँ,’ प्रशिक्षक रोबानीले भने । 

बंगलादेशकी कप्तान सविना खातुनले अपराजित यात्रा कायम राख्ने उदेश्य रहेको बताइन् । ‘हामी पूर्णरूपमा तयार छौँ र एकपछि अर्को खेलका लागि तयारी गरिरहेका छौँ । हामी इतिहास रच्न चाहन्छौँ,’ उनले थपिन् । 

नेपाल चार पटक फाइनलमा पुगेर पनि भारतसँग पराजित भएको थियो भने बंगलादेश पनि एक पटक फाइनलमा भारतसँगै पराजित हुन पुगेको थियो ।


Author

थप समाचार
x