फुटबल

मैत्रीपूर्ण खेलमा आज नेपाल र बङ्लादेश भिड्दै, भिआइपी टिकटको मूल्य पाँच हजार

इकागज |
असोज ११, २०७९ मंगलबार ६:५० बजे

काठमाडौं - अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा आज नेपाल र बंगलादेश खेल्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे हुनेछ । घरेलु मैदानमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ ।

मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । नेपाली टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार नेपाली टोलीको घोषणा गरेका हुन् । तत्कालीन मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षण छाडेकामध्ये ९ खेलाडी टिममा परेका छन् । 


त्यसैगरी, रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा अटाएका छन् ।

बन्द प्रशिक्षण छाडेर अलमुताइरीविरुद्ध विद्रोह गरेका रोहित चन्दसँगै विशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, तेज तामाङ, विशाल राई र विमल घर्तीमगर टिममा अटाएका छन् । सुमन लामा मात्र टिममा छैनन् ।

नेपाली टिम

गोलरक्षकः किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथु, दिप कार्की

डिफेण्डर: रोहित चन्द, अनन्त तामाङ, रेजिन धिमाल, सुमन अर्याल, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी

मिडफिल्डर: विशाल राई, सुजल श्रेष्ठ, सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, सुरजज्यु ठकुरी, एरिक विष्ट

फरवार्ड: विमल घर्ती मगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका लागि एउटै टिकटको मूल्य ५ हजार तोकिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको सूचना अनुसार भिआइपी टिकट खरिद गर्न ५ हजारसम्म तिर्नुपर्ने भएको छ । भिआइपीतर्फकै अन्य टिकटको दर १ हजार रुपैयाँ तोकिएको छ । नर्मलतर्फको टिकटका लागि ५ सय तोकिएको छ ।


Author

थप समाचार
x