फुटबल

भियतनामविरुद्ध खेल्दा काउन्टर अट्याकमा गोल गर्ने नेपालको लक्ष्य

इकागज |
असोज २१, २०७९ शुक्रबार ९:५ बजे

काठमाडौँ- भियतनाममा रहेको नेपाली युवा फुटबल टिमले एएफसी यू-१७ एसियन कप छनोट अन्तर्गत आज घरेलु टिम भियतनामविरुद्ध खेल्दैछ । समूह ‘एफ’ मा रहेको नेपाल र भियतनामबीचको खेल नेपाली समय अनुसार साँझ ५:४५ बजेबाट सुरु हुनेछ । समूह चरणमा नेपालको यो दोस्रो खेल हो ।

यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डसँग ३-० को पराजय भोगेको थियो । भियतनामले भने पहिलो खेलमा चाइनिज ताइपेइलाई ४-० ले पराजित गरेको थियो ।


पहिलो खेलमा पराजय भोगेको नेपालले भने दोस्रो खेलमा जित निकाल्ने लक्ष्य सहित मैदानमा उत्रँदैछ । नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनामविरुद्ध खेल्दा रक्षापंक्तिमा ध्यान दिँदै काउन्टर अट्याक गर्ने बताएका छन् ।

‘भियतनाम बलियो टिम छ। तर यसको मतलब हामी कमजोर छौँ भन्ने होइन । जसरी हुन्छ भियतनामलाई रोक्ने हाम्रो योजना हो । त्यसका लागि हामी रक्षापंक्तिलाई मजबुत बनाउने छौँ । अनि काउन्टर अट्याक गर्दै गोल निकाल्ने प्रयास गर्नेछौँ,’ श्रेष्ठले भने ।

मुख्य प्रशिक्षक श्रेष्ठले भियतनामको पासिङ गेमलाई अवरोध पुर्‍याउन नेपाली खेलाडीले पनि अनुशासित भएर रक्षात्मक खेलुपर्ने बताउँछन् । ‘हामी डिफेन्ड गर्दा समूहमा, अट्याक गर्दा पनि समूहमै हुनेछौँ । व्यक्तिगत कौशल भन्दा सामूहिक प्रयासमा ध्यान दिने हाम्रो योजना हो । पहिलो खेलको दोस्रो हाफमा हाम्रो रक्षापंक्तिको संरचना केही बिग्रिएको थियो । आजको खेलमा टिमको रणनीतिक संरचना (ट्याक्टिकल सेप) नबिग्रियोस भनेर चनाखो रहनेछौँ,’ श्रेष्ठले भनेका छन् ।

नेपाली टिमका कप्तान प्रशान्त लक्षम पनि अत्यधिक गर्मीका बाबजुद दिउँसो खेल्नु परेकाले थाइल्यान्डसँग सोचे जस्तो खेल देखाउन नसकेको बताउँछन् ।

पहिलो खेलको अनुभवका कारण दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने आफूहरुको लक्ष्य रहेको उनको भनाइ छ । ‘मलाई लाग्छ थाइल्यान्डभन्दा बलियो टिम हो भियतनाम। भियतनामी खेलाडीहरुको पासिङ राम्रो छ । हामी सबैले आआफ्नो भूमिका शतप्रतिशत निभाए उनीहरुलाई रोक्न सकिन्छ। प्रशिक्षकको रणनीति पछ्याउँदै आफ्नो पोजिसन नछाडी खेलेमा सकारात्मक नतिजा निकाल्न सकिन्छ जस्तो लागेको छ,’ लक्षमले भने ।


Author

थप समाचार
x