फुटबल

डेनमार्कलाई स्तब्ध तुल्याने लक्ष्यमा ट्युनिसिया

इकागज |
मंसिर ६, २०७९ मंगलबार १२:३ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत डेनमार्क र ट्युनिसियाले आफ्नो पहिलो खेल आज खेल्दैछन् । समूह ‘डी’ मा रहेका डेनमार्क र ट्युनिसियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ ।

विश्वकप छनोटमा डेनमार्कले उत्कृष्ट प्रदर्शन गर्‍यो । सन् २०१८ को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको डेनमार्कले विश्वकप छनोटका १० खेलमा २७ अंक जोडेर समूह ‘एफ’ को विजेता बन्यो । सुरुवाती ९ खेल जितेको डेनमार्कले अन्तिम खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो ।


सन् २०२० को युरो कपमा सेमिफाइनल पुगेको डेनमार्कले युईएफए नेसन्स लिगको समूहमा दोस्रो भयो । यस हिसाबले डेनमार्कको लक्ष्य भनेको केवल नकआउट चरणमा स्थान बनाउनुमात्र हुनेछैन, समूह विजेता बन्ने समेत हुनेछ ।

अर्कोतर्फ ट्युनिसियाले लगातार दोस्रो पटक विश्वकप खेल्दैछ । सन् २०१८ को विश्वकपको समूह चरणबाट बाहिरिएको ट्युनिसियाले ३ खेलबाट केवल ३ अंक जोडेको थियो । तर यस पटक पनि समूह चरण पार गर्न ट्युनिसियालाई भने डेनमार्कसँगै फ्रान्स र अस्ट्रेलियालाई पनि पछि पार्नुपर्ने हुन्छ ।

विश्वकप छनोट पनि ट्युनिसियाका लागि खासै उल्लासपूर्वक थिएन । प्लेअफमा मालीलाई पछि पारेर विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।

तर गत हप्ता इरानलाई मैत्रीपूर्ण खेलमा २-० गोल अन्तरले पराजित गरेका कारण ट्युनिसियाले डेनमार्कविरुद्ध जित हात पार्ने प्रयासमा हुनेछ ।


Author

थप समाचार
x