फुटबल

फिफा विश्वकपः क्यामरुन र सर्बियाबीचको रोमाञ्चक खेल बराबरीमा

इकागज |
मंसिर १२, २०७९ सोमबार १७:४६ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्यामरुन र सर्बियाबीचको खेल रोमाञ्चकरुपमा बराबरीमा टुंगिएको छ । अल जानोब स्टेडियममा भएको समूह 'जी' अन्तर्गतको खेल ३-३ को बराबरीमा टुंगिएको हो ।

क्यामरुनका लागि जिन-चार्लस कास्टेलेटो, भिनसेन्ट अबोबाकर र एरिक म्याक्सिमले एक-एक गोल गरे । सर्बियाका लागि स्ट्राहिन्जा पाभलोभिक, सर्जेज मिलिन्कोभिक-साभिक र अलेक्जान्डर मित्रोभिकले एक-एक गोल गरे ।


कास्टेलेटोले २९ औँ मिनेटमा गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा पाभलोभिक र सर्जेजले एक-एक गोल गर्दै सर्बियालाई २-१ को अग्रता दिलाए ।

त्यसपछि मित्रोभिकले ५३ औँ मिनेटमा गोल गर्दै सर्बियाको अग्रतालाई ३-१ को अवस्थामा पुर्‍याए । तर क्यामरुनका भिनसेन्टले ६३ औँ तथा एरिकले ६६ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

यससँगै पहिलो खेलमा स्विटजरल्यान्डसँग पराजित भएको क्यामरुन र ब्राजिलसँग पराजित भएको सर्बियाले नकआउट चरणको सम्भावना कायमै राखेका छन् ।


Author

थप समाचार
x