फुटबल

उरुग्वेसँग २०१० मा भोगेको हारको बदला लिने दाउमा घाना

इकागज |
मंसिर १६, २०७९ शुक्रबार १५:४६ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा घानाले उरुग्वेको सामना गर्दैछ । घाना र उरुग्वेबीचको खेल अल जानोब स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।

यस समूहबाट पोर्चुगल नकआउटमा पुगिसकेका कारण केवल एक स्थानका लागि तीन टिम प्रतिस्पर्धा हुँदैछ । पोर्चुगलविरुद्ध खेल्दा दक्षिण कोरिया पनि अन्तिम १६ को अपेक्षासहित मैदानमा उत्रने छ ।


अघिल्ला दुई मध्ये एक खेलमा जित हात पार्दै ३ अंक जोडेको कारण घानाको अघिल्लो चरणको सम्भावना बलियो छ । उसले उरुग्वेलाई पराजित गरे अघिल्लो चरणमा प्रवेश गर्नेछ । बराबरी भए अर्को खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

यता एक खेल बराबरी खेल्दा एक खेलमा पराजय भोगेको उरुग्वेलाई भने अघिल्लो चरण पुग्न केवल जितले मात्रै पुग्दै अर्को खेलको नतिजा समेत कुर्नुपर्ने हुन्छ ।

तर उरुग्वेविरुद्ध खेल्दा घानाले केवल जितको मात्र अपेक्षा गर्दैन उसले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको क्वार्टरफाइनलमा भोगेको पराजयको बदला लिने दाउमा समेत हुनेछ ।

क्वार्टरफाइनलमा १-१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा उरुग्वेले घानालाई ४-२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

सुले मुन्तारीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै घानालाई अग्रता दिलाएपनि डिएगो फोरलानले ५४ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

तर घानाको टिम तथा समर्थक सो पराजयको बदला कुरिरहेका छन् । कतारमा जारी विश्वकपले सो अवसर पनि जुराइदिएको छ ।


Author

थप समाचार
x