फुटबल

फिफा विश्वकप २०२२: कस्तो छ एसियाबाट खेल्ने राष्ट्रहरुको प्रदर्शन ?

इकागज |
मंसिर १७, २०७९ शनिबार ११:३८ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत एसियाबाट ६ राष्ट्रले सहभागिता जनाए । आयोजक कतारसँगै अस्ट्रेलिया, इरान, जापान, साउदी अरेबिया र दक्षिण कोरियाले विश्वकपमा एसियाको प्रतिनिधित्व गरिरहेका छन् ।

समूह चरणको समाप्तीसँगै एसियाबाट ३ राष्ट्रहरु अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले नकआउटमा स्थान सुरक्षित गरेका छन् । विश्वकपको नकआउट चरणमा एसियाबाट ३ राष्ट्र पहिलो पटक पुगेका हुन् ।


यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानमा संयुक्त रुपमा आयोजना भएको विश्वकपमा जापान र दक्षिण कोरिया दुबै नकआउट चरणमा पुगेका थिए ।

सन् २००२ को विश्वकपमा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा जर्मनीसँग केवल १-० ले पराजित भएको थियो । जापान भने अन्तिम १६ मा टर्कीसँग १-० ले पराजित भएको थियो ।

सन् २०१० मा पनि जापान र दक्षिण कोरिया नकआउट चरणमा पुगेका थिए । यस पटक भने अस्ट्रेलिया पनि अन्तिम १६ मा पुगेको छ ।

समग्रमा हेर्दा एसियाबाट खेल्ने राष्ट्रहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । समूह ‘ए’ मा रहेको आयोजक कतारले समूह चरणका ३ वटै खेलमा पराजय भोगेपनि अन्य पाँचवटै टिमले जित हात पारेका छन् ।

समूह ‘बी’ मा रहेको इरानले वेल्सलाई २-० ले पराजित गर्न सफल भयो । अन्य २ खेलमा हार बेहोरेको कारण अघिल्लो चरणमा भने पुग्न सकेन ।

समूह ‘सी’ मा रहेको साउदी अरेबियाले पनि पहिलो खेलमै अर्जेन्टिनामाथि २-१ को अप्रत्यासित नतिजा निकालेको थियो । तर पछिल्ला २ खेलमा पराजय भोगेपछि साउदी अरेबिया पनि समूह चरणभन्दा माथि पुग्न सकेन ।

तर समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले भने ट्यूनिसिया र डेनमार्कलाई समान १-० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्‍यो ।

अर्कोतर्फ जापान समूह ‘ई’ को विजेताको रुपमा नकआउट चरणमा स्थान सुरक्षित गर्‍यो । पहिलो खेलमै जर्मनीलाई २-१ ले पराजित गरेको जापानले अन्तिम खेलमा स्पेनलाई २-१ ले पाखा लगायो । जसका कारण जर्मनी समूह चरणबाट बाहिरियो ।

समूह ‘एच’ मा दक्षिण कोरियाले उरुग्वेसँग बराबरी खेल्दा पोर्चुगललाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा पुग्यो ।

अब जापानले क्रोएसिया, दक्षिण कोरियाले फ्रान्स र अस्ट्रेलियाले अर्जेन्टिनाको सामना गर्नेछन् ।


Author

थप समाचार
x