फुटबल

विश्वकप खेलाउने रेफ्रीको पारिश्रमिक कति ?

इकागज |
मंसिर २०, २०७९ मगलवार १४:४ बजे

काठमाडौँ-  कतारमा जारी फिफा विश्वकप फुटबलका लागि जम्मा ४ सय ४० मिलियन अमेरिकी डलर अर्थात ५७ अर्ब ८७ करोड तथा २४ लाख नेपाली रुपैयाँ पुरस्कार राशी रहेको छ । विजेता टोलीले नै ५ अर्ब ५२ करोड ४१ लाख नेपाली रुपैयाँ प्राप्त गर्नेछ ।

अर्कोतर्फ विश्वकप खेलाउने रेफ्रीहरुले पनि लाखौं रुपैयाँ प्राप्त गर्ने भएका छन् । विश्वकपका मुख्य रेफ्रीले समूह चरणका प्रत्येक खेलका लागि ३ हजार अमेरिकी डलर अर्थात करिब ३ लाख ९५ हजार नेपाली रुपैयाँ प्राप्त गर्नेछन् ।


मुख्य रेफ्रीले नै नकआउट चरणका एक खेल खेलाए बापत १० हजार अमेरिकी डलर अर्थात १३ लाख १५ हजार प्राप्त गर्नेछन् । त्यसमा फाइनल पनि समावेश गरिएको छ ।

त्यसैगरी, सहायक रेफ्री र फोर्थ अफिसियलले समूह चरणमा २ हजार ५ सय डलर अर्थात ३ लाख २८ हजार नेपाली रुपैयाँ प्राप्त गर्नेछन् । नकआउट चरणको प्रत्येक खेलमा भने ५ हजार डलर अर्थात ६ लाख ५७ हजार नेपाली प्राप्त गर्नेछन् ।

भिडियो असिस्टेन्ट रेफ्रीले समूह चरणमा ३ हजार तथा नकआउट चरणमा ५ हजार डलर पाउने भएको फिफाले जनाएको छ ।


Author

थप समाचार
x