त्याे दिन जब मोहन बगानसँग बाल-बाल हारबाट जाेगिएकाे थियाे पेलेको क्लब
काठमाडौँ- भारतीय सहर कलकत्ताको प्रतिष्ठित इडेन गार्डेन खासगरी महत्वपूर्ण क्रिकेट खेलका क्रममा भरिभराउ हुन्छ । तर सन् १९७७ सेप्टेम्बर २४ मा भने फुटबल खेलका लागि सो मैदान ८० हजार दर्शकले भरिएको थियो । कारण थियो, ब्राजिलियन महान् फुटबलर पेलेको खेल हेर्नु ।
विश्वभर फुटबललाई प्रचारप्रसार गर्नका लागि अमेरिकी फुटबल क्लब न्यूयोर्क कसमसको तर्फबाट प्रदर्शन खेलका लागि पेले भारत आएका थिए ।
उक्त खेल भारतीय क्लब मोहन बगानका लागि पनि विशेष थियो । मोहन बगानले ब्राजिललाई ३ पटक विश्वकपको उपाधि दिलाएका पेलेसँगै ब्राजिलकै कार्लोस अल्बर्टो र इटालीका जर्जियो चानाग्लि सम्मिलित टिमसँग खेलेको थियो ।
उक्त खेलमा मोहन बगानले न्यूयोर्क कसमसलाई २-२ को बराबरीमा रोकेको थियो । भारतीय इतिहासकार नोभी कपाडियाले आफ्नो किताब ‘बेरफुट टू बुट्स’ मा लेखे अनुसार पेलेलाई हेर्न दम दम विमानस्थलमा लाखौ मानिस भेला भएका थिए । कलकत्तामा बसेको उनी होटल बाहिर पनि हजारौ मानिसको उपस्थिति हुन्थ्यो ।
भारतीय टिमका कप्तान सुबराता भट्टाचार्यसहित प्रदिप चौधरी, पीके बनर्जी, सुराजित सेनगुप्ता र मोहमद हबिबीलाई सो खेलका मुख्य खेलाडीको रुपमा रहेका थिए ।
बनर्जी र चौधरीले पेलेलाई मार्क गर्नुपर्ने थियो र उनीहरुले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पुरा गरेको उल्लेख छ । हबिबीले उत्कृष्ट प्रदर्शन गरेका थिए र पेलेले उनको खेलको प्रशंसा समेत गरे ।
यतिसम्म कि मोहन बगानका खेलाडीहरुले आफ्नो अभ्यासलाई छाडेर पेले कसरी तयार हुन्छन् भनेर हेर्न थालेका थिए ।
कतिलाई विश्वास नलागे पनि भारतीय टिमले पेलेको टिमलाई झन्डै पराजित गरेको थियो ।
खासमा पेले उक्त समयमा ३८ वर्षका थिए र फुटबल क्यारियरको अन्तिम समयमा पुगिसकेका थिए । तर उनको फुटबल कौशलतामा भने कमी देखिएन।
अर्कोतर्फ भारतको मौसमसँग भिज्न नसकेका तथा रातभरी पानी परेकाले मैदान हिलाम्य भएको कारण पाहुना टोलीले बराबरी खेलेको थियो । न्यूयोर्क कसमसले खेलको अन्तिम समयमा पाएको विवादित पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थियो ।
उक्त खेलमा मोहन बगानका लागि श्याम थापा र अकबर अलीले गोल गरेका थिए । दर्शकहरुले भने पेलेले न्यूयोर्कका लागि गोल गरेको हेर्न पाएनन् ।
आईएएनएसका लागि श्रीकान्त भवतुल्लाले लेखेको आलेखको अनुवाद ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया