फुटबल

यस्तो छ रोनाल्डोलाई भित्र्याएको अल नासरको इतिहास

इकागज |
पुस १७, २०७९ आइतबार १३:४७ बजे

काठमाडौँ- साउदी अरेबियन फुटबल क्लब अल नासरले पोर्चुगलका कप्तान तथा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कीर्तिमानी मूल्यमा भित्र्याएको छ । अल नासरले रोनाल्डोसँग सन् २०२५ को जुनसम्मका लागि सम्झौता गरेको अलजजिराले जनाएको छ ।

पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता अन्त्य भएपछि साउदी क्लबसँग सम्झौता गरेका हुन् ।


कस्तो छ अल नासरको इतिहास ?

साउदी अरबको राजधानी रियादको अल नासर क्लब सन् १९५५ मा स्थापना भएको हो । यसले साउदी अरेबियाको शीर्ष लिग साउदी प्रोफेशनल लिगमा सहभागिता जनाउँदै आएको छ । यस लिगमा १८ क्लबको सहभागिता हुने गरेको छ ।

अल नासरको २५ हजार क्षमताको आफ्नो फुटबल मैदान मरसुल पार्क रहेको छ । अल नासरले हालसम्म ९ पटक लिग उपाधि जितेको छ । रियादकै अल हिलाल क्लबले सर्वाधिक १८ पटक उक्त लिगको उपाधि हात पारेको छ ।

अहिलेको सिजनमा भने १० खेलपछि अल नासर दोस्रो स्थानमा छ । दुई अंकको अग्रतासहित अल शबाब शीर्ष स्थानमा रहेको छ । गत सिजन अल नासर तेस्रो भएको थियो ।

अल नासरले साउदी अरेबियाको नकआउट प्रतियोगिता किंग्स कप ६ पटक जितेको छ । उसले पछिल्लो पटक सन् १९९० मा उपाधि जितेको थियो ।

अल नासरको एएफसी च्याम्पियन्स लिगमा सबै उत्कृष्ट नतिजा भनेको उपविजेता बन्नु हो । सन् १९९५ मा जापानको इल्हवा चुन्मासँग पराजित भएपछि उपविजेता बनेको थियो ।

साउदी अरेबियाको क्लबहरूले ६ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । अल हिलालले ४ तथा अल इतिहादले २ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

अल नासरमा क्यामरुनका भिनसेन्ट अबोबकारसँगै कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिना तथा ब्राजिलका मिडफिल्डर लुइज गुस्ताभोले पनि रहेका छन् ।

साउदी प्रोफेशनल लिग क्लबले ८ जनसम्म विदेशी खेलाडी भित्र्याउन पाउँछ भने एक खेलमा ७ खेलाडीलाई मैदानमा उतार्न सक्छ । अल नासरका लागि सन् १९७७ देखि १९९८ सम्म खेलेका माजेद अब्दुल्लाह सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

श्रोतः अलजजिरा । 


Author

थप समाचार
x