आज हुने ‘म्यानचेस्टर डर्बी’ पछिल्लाे वर्षकै प्रतिस्पर्धात्मक खेल
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीच खेल हुँदैछ । युनाइटेडको मैदानमा हुने ‘म्यानचेस्टर डर्बी’ पछिल्ला वर्षहरूकै सबैभन्दा अपेक्षा गरिएको तथा प्रतिस्पर्धात्मक हुने विश्लेषण गरिएको छ ।
पछिल्लो समय युनाइटेडले लगातार ८ खेलमा जित हात पारेको छ र सिटीमाथि जित पारे सन् २०१३ मा अलेक्स फर्गुसनले क्लब छाडेपछिकै लगातार धेरै खेल जित्ने कीर्तिमानको बराबरी गर्नेछ ।
यता लिगमा युनाइटेडभन्दा केवल ४ अंकले अगाडी रहेको सिटीले भने कारबाओ कपमा गत बुधबार साउथाम्पटनविरुद्ध पराजय भोगेको थियो ।
बीबीसीले उल्लेख गरे अनुसार सिटीका मुख्य प्रशिक्षक पेप गुआर्डियोला पनि युनाइटेडको पछिल्लो सुधारबारे स्पष्ट छन् । गुआर्डियोलाका अनुसार युनाइटेड उपाधि दौडमा रहेको छ ।
पछिल्ला १८ खेलमा युनाइटेडले सिटीविरुद्ध केवल एक खेलमा पराजय भोगेको छ । गत अक्टोबरमा सिटीले युनाइटेडलाई ६-३ ले पराजित गरेको थियो ।
युनाइटेडका प्रशिक्षक एरिक टेन हागले सिटीविरुद्ध खेल्दा आफ्नो टिम कहाँसम्म आइपुगेको भनेर प्रमाणित गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
युनाइटेडका एन्थनी मार्सियल घाइते भएका कारण पछिल्ला ६ खेलमा ७ गोल गरेका मार्कस रासफोर्डले सिटीविरुद्ध सेन्टर-फरवार्डको भूमिका रहनेछन् । सिटीका लागि भने डिफेन्डर जोन स्टोन्सबिना नै मैदानमा उत्रनेछ । लिगको १६ खेलमा २१ गोल गरेका सिटीका भरपर्दा स्ट्राइकर अर्लिङ हालान्डको जादू भने हेर्न पाइनेछ ।
लिगमा १७ खेलबाट आर्सनलले ४४ अंक जोड्दा सिटीका ३९ अंक छ । युनाइटेडले भने ३५ अंक बटुलेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया