फुटबल

खेलाडी टिकाउने खोक्रो योजना बुन्दै एन्फा

सञ्जीव शाह |
माघ २१, २०७९ शनिबार १५:५३ बजे

काठमाडौँ- पर्याप्त फुटबल गतिविधि नभएपछि खेलाडी पलायन रोक्न नसकेको भन्दै व्यापक आलोचना खेपिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्ततः नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि तीन महिनाभित्रै टुंग्याउने भएको छ ।

पटक-पटक सार्दै एन्फाले अन्ततः फागुन १९ देखि ‘ए’ डिभिजन लिग गर्ने तालिका सार्वजनिक त गर्‍यो, तर क्लबहरूको दबाबका कारण लिग तीन महिनाभित्रै टुंग्याउन बाध्य हुनुपरेको एन्फा नेतृत्वले दाबी गरेको छ ।


विगतमा १८ टिमसम्मको सहभागिता हुने लिगमा पछिल्ला वर्षहरूमा क्लबहरुको संख्यामा पनि कम हुँदै गएको छ । डबल राउन्ड रोबिनका आधारमा हुने लिगमा यसपटक पनि केवल १४ टिमको सहभागिता छ । साथै सोही लिगका लागि पनि केवल पाँच चरणसम्मको खेल तालिका मात्र सार्वजनिक गरिएको छ ।

डलब राउनरोबिनको आधारमा हुने भनिएको ‘ए’ लिगलाई पनि तीन महिनाभित्रै टुंग्याउने एन्फाको योजना रहेको छ । एन्फाका महासचिव किरण राईले क्लबहरुको समस्यालाई ध्यानमा राख्दै लिग तीन महिनाभित्रै टुंग्याउने निर्णयमा पुगेको बताउँछन् ।

‘क्लबहरु आफ्नै समस्याका कारण निर्धारित समयमा लिग खेल्न तयार थिएनन् । अझ कतिपय क्लबले त यसपटक लिग नगरी अर्को वर्ष गर्नका लागि समेत दबाब दिइरहेका थिए,’ लिगलाई लिएर शुक्रबार एन्फा कम्पलेक्समा आयोजिक पत्रकार सम्मेलनका क्रममा महासचिव राईले भने ।

तर उनले खेलाडीहरुलाई बेरोजगार राख्न सक्ने अवस्था नभएका कारण मात्रै लिग यस वर्ष गर्न लागेको तर क्लबहरुकै दबाबका कारण लिग तीन महिनाभित्रै टुंग्याउने योजनासहित अघि बढेको दावी गरे ।

लिग निर्देशक संजीव मिश्रले पनि क्लबहरुले कमजोर आर्थिक अवस्थाका कारण लिग चाँडोभन्दा चाँडो सक्नका लागि आग्रह गरेको दाबी गरे ।

‘ए डिभिजन क्लबहरुले चाँडोभन्दा चाँडो लिग सक्न आग्रह गरिरहेका थिए । यस वर्ष खेल्न गाह्रो छ भन्दै क्लबका पदाधिकारीहरु चाँडो भन्दा चाँडो लिग सकाउने योजनामा हुनुहुन्थ्यो । लामो समय लिग भए खेलाडीहरुलाई बढी तलब दिनुपर्ने भन्दै क्लब पदाधिकारीहरु लिग चाडो सकाउने योजनामा हुनुहुन्छ,’ मिश्रले भने ।

तर पछिल्लो समय पर्याप्त फुटबल गतिविधि नहुँदा सिनियर तथा उमेर समूहका लागि राष्ट्रिय टिमबाट खेलेका दर्जनौं खेलाडीहरू धमाधम विदेश पलायन भइरहेका छन् ।

यति हुँदा पनि एन्फा महासचिव राईले भने खेलाडीहरुलाई नेपालमै खेल्न तथा खेलबाटै जीविकोपार्जन गर्ने योजनासहित एन्फा अघि बढिरहेको दाबी गर्न भने छाडेनन् ।

‘खेलाडी विदेशिने कुराले एन्फालाई ठूलो चोट पुगेको छ । यस सन्दर्भमा ढाटेर वा भागेर हुनेवाला छैन, तर सकेसम्म खेलाडीहरुलाई यहि राख्ने उदेश्यले लिगलाई समस्यारहित बनाउने तथा नेपाल सुपर लिग (एनएसएल) लाई व्यवस्थित गर्ने उदेश्यअघि बढेको छौ,’ राईले थपे ।

महासचिव राईका अनुसार नेपालमा कम्तिमा ५ देखि ६ महिना लिग तथा कम्तिमा ३ एनएसएल महिना गरी एक सिजन ९ महिना चलायमान राख्ने एन्फाको योजना छ । ‘आगामी दिनमा खेलाडीहरु विदेश जान नपरोस तथा खेलेर जीविकोपार्जन होस भनेर वातावरण बनाउन मेहनत गरिरहेका छौ ।’

राईले अहिलेका खेलाडी टिकाएर बाच्ने आधार बनाउने तथा खेलाडी उत्पादनमा जोड दिने योजना समेत सुनाए । महासचिव राईले उक्त योजना सुनाइरहँदा सोही दिन नेपाली राष्ट्रिय फुटबल टिमका भरपर्दा मिडफिल्डर विशाल राई भने अस्ट्रेलिया प्रस्थान गरिसकेका थिए ।

कोभिड तथा एन्फाकै निर्वाचनका कारण लामो समयसम्म फुटबल गतिविधि हुन नसक्दा पनि खेलाडीहरु अर्कोबाटो रोज्न बाध्य भएको हुन सक्ने बताउँदै राईले भने एन्फाले नेपालमै खेलेर जीविकोपार्जनका लागि लागिपरेको भन्दै खेलाडीहरुलाई नेपाल फर्कन आग्रह समेत गरे ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x