फुटबल

केनको कीर्तिमानी गोलमा टोटेनहमसँग सिटी पराजित

इकागज |
माघ २३, २०७९ सोमबार ९:१ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत टोटेनहमले उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । आइतबार राति आफ्नै घरेलु मैदानमा टोटेनहमले सिटीलाई १-० गोलअन्तरले पराजित गर्‍यो ।

१० खेलाडीमा सीमित भएको टोटेनहमलाई जित दिलाउन ह्यारी केनले निर्णायक गोल गरे । केनले १५औँ मिनेटमा गरेको गोल नै टोटेनहमलाई जित दिलाउन पर्‍याप्त रह्‍यो । यससँगै केन टोटेनहमका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।


केनले टोटेनहमका लागि २ सय ६७ गोल गरेका छन् । २९ वर्षीय केनले जिम्मी ग्रेभ्सले गरेको २ सय ६६ गोलको कीर्तिमानलाई तोडेका छन् ।

क्रिस्टियन रोमेरो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि ८७ औँ मिनेटमा टोटेनहम १० खेलाडीमा सिमित भएको थियो । तर सिटीले भने गोल फर्काउन सकेन ।

यससँगै पाँचौ स्थानको टोटेनहमले २२ खेलबाट ३९ अंक जोडेको छ । दोस्रो स्थानको सिटीको २१ खेलमा ४५ अंक छ । शीर्ष स्थानको आर्सनलले २० खेलबाट ५० अंक हात पारेको छ ।


Author

थप समाचार
x