‘केपी ओली कप २०२३’ को ट्रफी र अफिसियल गीत सार्वजनिक
काठमाडौँ - नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको आयोजनामा केपी ओली कप २०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको ट्रफी अनावरण र अफिसियल गीत सार्वजनिक भएको छ ।
केपी ओली कप २०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन फागुन ११ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको हो । फुटबल प्रतियोगिता १७ गतेसम्म चल्ने र फाइनल प्रतियोगिता सोही दिन हुने राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।
प्रतियोगितामा ८ वटा ए डिभिजनका समूहहरु सहभागी हुने उनले बताए । प्रतियोगितामा प्रथम हुने समूहलाई १० लाख रुपैयाँ, रनरअपलाई ५ लाख रुपैयाँ, बेस्ट प्लेयरलाई १ लाख रुपैयाँ, बेस्ट गोलकिपरलाई १ लाख रुपैयाँ, प्रत्येक म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ र प्रत्येक म्याचको विजेता टिमलाई २५ हजार रुपैयाँको दरले पुरस्कार राशी राखिएको उहाँले बताए ।
अध्यक्ष पौडेलले केपी ओली राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष भएकाले उनको सम्मान गर्न र समकालिन नेताहरुमध्य ओलीले खेलकुद बुझेको र चासो राख्ने भएकाले उहाँको नाममा फुटबल प्रतियोगिता गरिएको बताए । ओली समर्थकको ध्यानलाई खेलकुद क्षेत्रप्रति डाइभर्ट गर्न सकेमा खेलकुद क्षेत्रमा ठूलो लगानी र योगदान हुने सम्भावना बढ्ने भएकाले पनि यो प्रतियोगिता गरिएको उनले उल्लेख गरे ।
उनले भने, ‘हाम्रो संगठनको संस्थापक अध्यक्ष हुनुहुन्छ केपी शर्मा ओली । देशको प्रभावशाली राजनीतिज्ञ हुनुहुन्छ । समकालीन नेताहरुमा खेलकुदलाई अलि बुझेको, खेलकुदप्रति बढी चासो राख्ने र माया गर्ने नेताको रुपमा आम खेल जगतका साथीहरुले पनि भन्नुहुन्छ यो कुरा । उहाँको लिगेसी, शुभेच्छुक पंक्तिको ध्यानलाई खेलकुद क्षेत्रमा डाइभर्ट गरिदियौँ भने खेलकुद क्षेत्रमा ठूलो लगानी र योगदानको सम्भावना बढ्छ ।’
यस प्रतियोगिताले अन्य राजनीतिक दलहरुका भ्रातृ संगठनलाई पनि प्रतियोगिता गर्न प्रेरित गर्ने र खेल क्षेत्रमा आर्थिक क्षेत्र चलायमान हुने उनले उल्लेख गरे । अध्यक्ष पौडेलले प्रतियोगिताको उद्घाटन खेल क्षेत्रका कुनै शिखर पुरुषले गर्ने बताए । केपी ओलीको नामबाट प्रतियोगिता आयोजना भएको भएपनि ओली भने दर्शक, फुटबल प्रेमी र शुभचिन्तकको रुपमा मात्र उपस्थित हुनसक्ने उनले बताए । प्रतियोगिताका लागि १ करोड ५० लाख रुपैयाँ बराबरको स्टमेट रहेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया