फुटबल

सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताकाे उपाधि मनाङ मर्स्याङ्दीलाई

इकागज |
फागुन १०, २०७९ बुधबार १८:५६ बजे

मकवानपुर । मकवानपुरको हेटौंडामा भएको पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ । आज हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनलमा हिमालयन शेर्पालाई १–० गोलअन्तरले पराजित गर्दै मनाङ च्याम्पियन भएको हो ।

मनाङको जितमा एक मात्र निर्णायक गोल रोशन रानामगरले गरे । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका हुन् । उनी खेलको म्यान अफ दी म्याचसमेत घोषित भइ नगद १० हजार रुपैयाँ प्राप्त गरे ।


मनाङले उपाधिसँगै नगद १५ लाख र शेर्पाले १० लाख रुपैयाँ प्राप्त गरेको छ । माघ २८ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो । मकवानपुर गोल्डकपको चार वटा संस्करण सकिदा पहिलो पटक मनाङ र शेर्पा फाइनलमा पुगेको थियो ।

मनाङले सशस्त्र प्रहरीको एपीएफ र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए । दुवै टोली गोल्डकपको फाइनलमा पहिलो पटक भिडेका हुन् ।

२०६४ सालबाट सुरु भएको गोल्डकपको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो । त्यसपछि नियमित हुन नसकेको यस प्रतियोगितालाई २०७६ सालबाट पुनः निरन्तरता दिइएको हो ।

प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको रुपमा मनाङका दिप कार्कीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाएका छन् ।

 

 


Author

थप समाचार
x