जब फिफा कंग्रेसका लागि विमानस्थल पुगेका एन्फा उपाध्यक्ष घर फर्कनुपर्याे …
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले रुवान्डामा मार्च १६ मा हुने फिफा कंग्रेसमा सहभागी हुन अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई र उपाध्यक्ष बिराट जंग शाहीको नाम फिफामा पठाएको थियो ।
फिफा ट्राभलले फिफा कंग्रेसमा जानका लागि तीनजनाको मार्च १३ अर्थात आजको टर्किस एयरको हवाइ टिकट समेत काटेको थियो । त्यसैगरी, नेपाल फर्किनका लागि मार्च १७ को कतार एयरको टिकट काटेको थियो ।
तर जब एन्फाका उपाध्यक्ष शाही आज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल पुगे उनले थाहा पाए कि फिफा कंग्रेसका लागि पठाइएको उनको नाम हटाइएको रहेछ ।
शाहीले एन्फा अध्यक्ष नेम्वाङले आफ्नो नाम हटाएर पनि समयमा जानकारी नगराइ आफ्नो वेइज्जत गरेको आरोप लगाएका छन् ।
‘करिब ४० वर्ष इमान्दारीपूर्वक फुटबलमा गरेको योगदान र तपाईलाई अध्यक्ष बनाउन गरेको महत्वपूर्ण सहयोग गरेको बापत आज जीवनमै सबैभन्दा ठूलो अपमानित हुनुपर्यो । त्यसको लागि एन्फा अध्यक्ष ज्यूलाई धेरै धेरै धन्यवाद,’ शाहीले एक विज्ञप्तिमार्फत जनाए ।
शाहीले आफ्नो नाममा टिकट र भिसा पनि आएको तथा फिफा प्रतिनिधिको तर्फबाट फुटबल खेल्ने फारममा पनि हस्ताक्षर गरेर पठाएको बताउँदै उनले आज घरबाट श्रीमती र घरपरिवारबाट बिदा भई एयरपोर्ट गएको जानकारी गराए ।
‘चेकिङ काउन्टरमा गएपछि थाहा पाए मेरो नाम त हटाइसकिएको रहेछ । हटाउनु थियो भने पनि कमसेकम मलाई जानकारी गराएको भए यस किसिमको अपमानित हुनुपर्ने थिएन । घरबाट बिदाबारी भएर गइसकेको व्यक्तिले घरमा गएर के भन्ने?,’ उनले प्रश्न गरे ।
फिफा कंग्रेसमा नाम राखिसके पछि पनि आफूले एन्फामा भएका अवैधानिक कार्यहरु र आर्थिक अनियमितताको विषयमा विभिन्न बैठकमा समर्थन नगरेपछि आफ्नो नाम हटाइएको भनी आफूलाई गर्व लागेको समेत शाहीले विज्ञप्तिमा उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया