फ्रेन्ड्सको पहिलो जित, चर्च ब्वाइज र संकटाको बराबरी
काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत फ्रेन्ड्स क्लबले पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सले जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गर्दै चार खेलमा पहिलो जित हात पारेको हो ।
फ्रेन्ड्सले यसअघि दुई खेल हार्दा एक खेलमा बराबरी खेलेको थियो । यता चार खेलमा जावलाखेलको यो पहिलो पराजय हो । जावलाखेलले यसअघि दुई खेल जित्दा एक खेलमा अंक बाडेको थियो ।
फ्रेन्ड्सलाई जित दिलाउन रकिफ अमिनुले १८ औँ तथा कप्तान प्रकाश बुढाथोकीले ३९ औँ मिनेटमा एक-एक गोल गरे । जावलाखेलका लागि फोडे फोफानेले ८७ औँ मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काए ।
दोस्रो हाफको इन्जुरी समयमा जावलाखेलका कप्तान सिमान्त थापाले फ्रेन्ड्सका खेलाडीमाथि हातपात गरेपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
यता लिग लिडर चर्च ब्वाइजले भने संकटा क्लबसँग गोलरहित बराबरी खेलेको छ । संकटाका मनिष डाँगीले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्न नसकेपछि संकटाले तीन अंक गुमाउन पुग्यो ।
चर्च ब्वाइजले भने यसअघिका तीनवटै खेल जितेको थियो । संकटाले यसअघि तीन मध्ये एकमा पराजय, एकमा बराबरी तथा एक खेलमा जित निकालेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया