सुदूरपश्चिम-११ सेमिफाइनलमा
कैलाली- आयोजक सुदूरपश्चिम–११ छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ४–० गोल अन्तरले हराउँदै सुदूरपश्चिमले अन्तिम चारमा स्थान बनाएको हो । सुदूरपश्चिम–११ लाई जित दिलाउन आयुष श्रेष्ठले ह्याट्रीक गोल गरे । सुदूरपश्चिम–११ का लागि सुरुवाती पाँचौं मिनेटमै स्वामी हार्दिकले पहिलो गोल गरेका थिए ।
खेलको ३० औं मिनेटमा आयुषले आफ्नो व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे । उनले दोस्रो हाफमा ५१ औं र ६३ औं मिनेटमा गोल गर्दै यो संस्करणकै पहिलो ह्याट्रीक गरे । उनले खेलकै ‘एसपीए म्यान अफ दि म्याच’ भएर नगद दश हजार जिते ।
नेपाल पुलिसका खेलाडीले आजको खेलमा थुप्रै अवसरहरू पाए पनि गोल गर्न सकेनन् । जितसँगै सुदूरपश्चिम–११ ले सेमिफाइनलमा स्थान बनाएको छ । अब सुदूरपश्चिमले थ्री स्टार क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १६ गते हुनेछ ।
प्रतियोगिता अन्तरगत बुधबार मनाङ मर्स्याङ्दी र क्यामरुनको एभिनर फुटबल क्लबले पहिलो सेमिफाइनल प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।
प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया